गोकर्णेश्वरमा कविता महोत्सवको तयारी तीव्र

गोकर्णेश्वरमा कविता महोत्सवको तयारी तीव्र


काठमाडौँ ।

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते हुन गइरहेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको तयारी तीव्र पारिएको छ ।

महोत्सवलाई सफल पार्न नगरपालिका प्रतिबद्ध रहेको गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले बताए । गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउनु महोत्सवको लक्ष्य रहेको मेयर चालिसेले बताए ।

महोत्सवलाई सफल बनाउन मेयर चालिसेको संरक्षकत्व एवं वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समिति माताहत विभिन्न उपसमिति गठन गरी तीव्र रुपमा काम भइरहेको संयोजक घिमिरेले जानकारी दिए । देशको संविधान र कानुन विरुद्ध नहुने शीर्षकमा आधारित बढीमा २ सय शब्द सहितको कविता, प्रतियोगिताका लागि योग्य मानिने बताइएको छ ।

प्रतियोगिता प्रदेशस्तरको पनि हुने भएकाले पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना पुरस्कारका लागि केन्द्रस्तरमा सर्वोत्कृष्ट कविताहरु छुट्टयाएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविताहरु मध्येबाट प्रदेश स्तरको उत्कृष्ट तीन कविताहरु छुट्याइने घिमिरेले जानकारी दिए । प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता कायम गर्नका लागि स्थापित मूल्यांकन पद्धतिको आधारमा विज्ञ समुहबाट मूल्यांकन गराइने र उक्त मूल्यांकनबाट उच्चतम श्रेणीमा आएका कविताहरु मध्ये बढीमा ४० जना सम्मलाई वाचनको लागि सिफारिस गरिने भएको छ ।

पुरस्कार पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना दुई समेत गरी पाँच जनालाई क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार, १० हजार र प्रति प्रदेश ३ जनाको दरले २१ जनालाई जनही ५ हजारका दरले नगद, प्रमाणपत्र र दोसल्ला रहने पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता गोकर्णेश्वर नगरपालिका –८ आरुबारी चोकमा हुनेछ ।

Logo