राजनीतिले भन्दा साहित्यले मानिसलाई बढी संवेदनशील बनाउँछ : कांग्रेस नेता पौडेल

राजनीतिले भन्दा साहित्यले मानिसलाई बढी संवेदनशील बनाउँछ : कांग्रेस नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  राजनीतिले भन्दा साहित्यले मानिसलाई बढी संवेदनशिल बनाउने बताएका छन् ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास कृति पुनर्वासको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा पौडेलले मानिसभित्रको संबेदनालाई जागृत गराउने काम साहित्यले गर्ने हुँदा यो राजनीतिभन्दा फरक र जीवन्त विषय भएको बताए ।

आजको कार्यक्रममा राजनीति विषयभन्दा साहित्यका कुरामा बढी समय खर्चिएका पौडेलले साहित्यकारहरुका परिश्रम र मिहिनेत सबैका लागि प्रेरणादायी भएको समेत बताए । देशमा अहिले भइरहेका हरेक खालका गतिविधीलाई साहित्यमा उतारेर साहित्यकारहरुले सबैलाई सचेत गराउँदै आएकाले गलत काम गर्नेहरुले उनीहरुबाट धेरै कुरा सिक्नु पर्ने बताए । देशमा भएका हरेकखालका राजनितीक परिवर्तनले आर्दशको सट्टा विकृतिहरु आएका तर्फ सचेत गराउँदै नेता पौडेलले ती विकृतिहरुलाई हटाउन पनि साहित्य र साहित्यकारले अहम भूमिका खेल्ले गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद बद्री पाण्डेले कृति माथि समीक्षा गर्दै पुनर्वास उपन्यासले नेपाल र भारतका सीमाक्षेत्रमा रहेका आम नागरिकले भोगेका अनुभवहरुलाई जस्ताको तस्तै उतारेको बताए । उनले अहिले आइरहेको दुई देशवीचका सीमा समस्या, भारतिय सुरक्षाकर्मीले नेपाली माथी गरेका थिचोमिचो लगायतका विषयमा पनि कृतिले चित्रण गरेकोले यो एउटा संग्रहणिय पुस्तक भएको बताए ।

वरिष्ठ साहित्यकार कृष्ण धराबासीले कृतिमाथि टिप्पणी गर्दै यसमा भएका कमीकमजोरी औंल्याए । यद्यपी उपन्यासमा प्रयोग गरिएका प्रकृतिसँग, मानव जीवनसँग र अन्य उपयोगी बिम्बहरुले पुनर्वासलाई निकै रोचक बनाएकाले यो उत्कृष्ठ कृति बनाउन साहित्यकार सफल भएका धराबासीले बताए ।

यस्तै राष्ट्रिय सभाकी सांसद इन्दु कँडरियाले पनि प्रस्तुत कृति काल्पनिक नभएर यथार्थतामा आधारित भएकाले यसले कञ्चनपुरको पुनर्वासको झल्को उतारेको र त्यहाँका नागरिकलाई न्याय दिलाएको बताइन् । त्यहाँको १९६ नं पिल्लर हराएको र अन्य पिल्लरहरु पनि कोहि सारिएका त कोहि भाँचिएकाले कन्चनपुरमा सीमा समस्या भयावह रहेको प्रति चिन्ता व्यक्त गर्दै कृतिले यस विषयलाई उठाएको तर राज्यले बेवास्ता गरेको भन्दै राज्यका आँखा सीमातिर पनि पुग्न सक्नु पर्ने कँडरियाले बताइन् ।

कृतिकार वाग्लेले आफूले उपन्यास लेख्ने क्रममा कञ्चनपुरको सीमा समस्याका बारेमा स्थलगत भ्रमण गरेर त्यहाँको समस्या बुझेपछि कृति तयार पारेको बताए । उनले त्यहाँको भौगोलिक परिवेश र कृतिभित्र रहेका विषयका बारेमा संक्षिप्त उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भएर साहित्यलेखन गर्ने प्रतिबद्धता जनाए । उनले वाचन गरेको बा शिर्षकको कविताले उपस्थित सबैलाई भावुक बनाएको थियो ।

कार्यक्रम पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । शिखा बुक्सले उपन्यास पुनर्वासलाई बजारमा ल्याएको हो ।

Logo