गजल महोत्सवमा मन जित्न सफल गजलहरु (भिडियोसहित)

गजल महोत्सवमा मन जित्न सफल गजलहरु (भिडियोसहित)


  • जितेन्द्र रसिक
    काठमाडौं ।

नेपाली गजल क्षेत्रमा गजललाई विधागत मान्यता नदिएको गुनासो विगतमा सुनिए पनि पछिल्लो समय गजलले नेपाली साहित्यमा आफैंले विधागत मान्यता स्थापित गरिसकेका छन् । तर गजल आयातित विधा भएकाले जहाँबाट आएको हो त्यहि सिद्धान्तमा लेख्ने वा नेपाली साहित्यको आफ्नै मौलिकपन दिएर गजललाई आधारभूत सिद्धान्तमा रहेर लेख्ने भन्ने विषयमा भने बहस सकिएको छैन ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित २ दिने राष्ट्रिय गजल महोत्सवमा पनि गजलको संरचना र सिद्धान्तमै बहस केन्द्रित रह्यो । सातवटै प्रदेशका प्रतिनिधि गजलकार समेटेर गजल वाचन र वाचनपछि कार्यपत्र प्रस्तुतीसँगै बहस भएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको उक्त महोत्सवमा सातै प्रदेशका पाँच पाँचजना र काठमाडौं उपत्यकाबाट २८ जना गजलकारले गजलवाचन गरे भने (गजल गायन) मा १५ वरिष्ठ गजलकारले प्रस्तुति दिएका थिए । दुईदिन भएको गजल महोत्सवमा सहभागीको तर्फबाट ५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै महोत्सव समापन भएको थियो ।

महोत्सवमा कुलपति गंगाप्रसाद उप्रेतीले गजल क्षेत्रमा देशभित्र र बाहिरका युवाको रुचि र आकर्षणको केन्द्र भएको र वाचन एवं गायनमा जम्न सकिने भएकाले गजल महोत्सव सुरु गरेको बताए । पूर्वकुलपति बैरागी काइँलाले नेपाली छन्द कविताभित्र अंगीकृत नागरिकको रूपमा प्रतिष्ठानमा गजल प्रवेश गरेको तर्क गरे । सदस्यसचिव जगतप्रसाद उपाध्यायले गजल पछिल्लो समय सबै क्षेत्रलाई समेटेर अघि बढ्न सफल भएको बताए । गजलकार बूँद रानाले १० वर्षअघिको सपना आंशिक रूपमा पूरा भएको भन्दै अब यो महोत्सव मोती जयन्तीका दिन गरे पूर्ण हुने चाहना व्यक्त गरे ।

यस्तै गजलकार ज्ञानुवाकर पौडेलले कविता महोत्सव जस्तै गजल महोत्सवले निरन्तरता पाउनुपर्नेमा जोड दिए । कार्यक्रममा साहित्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले गजल महोत्सवले खासगरी युवामा तरंग र उमंग ल्याएको बताए । उनले भने, ‘महोत्सवले गजलको भविष्य सुनिश्चित गरेको छ, अस्तित्वलाई उत्कृष्ट बनाउनेछ । महोत्सवमा ‘गजल लेखन–चुनौती र दिशा’ परिसंवाद भएको थियो । त्यस्तै सातै प्रदेशको नेपाली गजलको अवस्थाबारे प्रादेशिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । गोष्ठी सत्रमा टीकाराम उदासीले ‘नेपाली गजल ः परम्परा र प्रवृत्ति’, डा. घनश्याम परिश्रमी र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

गजल महोत्सवमा वाचन भएका थोरै गजल मात्र अव्वल देखिए । ती मध्ये प्रस्तुत छ तरन्नुम (गजल गायन) भित्र रहेर गायन गरिएका ८ भिडियो गजलहरु यो भिडियोमा :

Logo