छ बुँदे टोकियाे घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न 

छ बुँदे टोकियाे घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न 

केन्द्रबिन्दु
0
Shares

टोक्यो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरूलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूत गतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिनसम्म चलेको सम्मेलनले पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाको नेतृत्त्वमा छ बुँदे घोषणापत्र जारी गर्दै आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

टोकियोको शिन्जुकुमा सम्पन्न भएको अनेसास च्याप्टर सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरूलाई पनि निकास दिएको छ । सम्मेलनमा नौ देशका १७ च्याप्टरका प्रतिनिधि र नेपालका चर्चित साहित्यकारहरूको उपस्थिति थियो ।

केन्द्रीय कार्य समितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्व अध्यक्ष दीप पाठक थिए । पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर  (२०१७ – २०१९ ) लाई संसारभरिका च्याप्टरहरूमध्ये उत्कृष्ट कार्य सम्पादन गरेबापत विशिष्ट च्याप्टर पुरस्कार प्रदान गरिएको थियो । जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गरेकी थिइन् ।

कार्यक्रमलाई गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं व्यवसायी भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले संगठित गरेकोमा हर्ष प्रकट गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरूको साहित्यप्रतिको लगावले आफू प्रभावित भएको बताए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत प्रतिभा राणाले विदेशी भूमिमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गर्दै यसकार्यमा दूतावास परिवार सहकार्य गर्न तयार रहेको कुरा बताइन् ।

यसैगरी संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाएका शुभकामना मन्तव्य महासचिव गणेश घिमिरेले वाचन गरेका थिए  । दीप पाठकको स्वागत मन्तव्य रहेको सो उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ जापान अध्यक्ष देवीलाल भण्डारी, आइसिसी एसिया युवा संयोजक दीपक कँडेलले पनि बोलेका थिए ।

यसअघि वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले जापानमा आयोजित च्याप्टर सम्मेलनको उद्देश्य र विषयमाथि प्रकाश पारेका थिए।

दुई दिन चलेको उक्त कार्यक्रमको प्रमुख आकर्षण त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालको कार्यपत्र र ५० भन्दा बढी कविहरूको कविता वाचन थियो । पौड्यालले प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाली भाषामा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजु र पत्रकार भूषण घिमिरेले टिप्पणी गरेका थिए। कार्यपत्र सेसनको सञ्चालन केन्द्रीय उपाध्यक्ष निशा अर्यालले गरेकी थिइन् ।

त्यसैगरि कार्यक्रममा महेश पौड्याल, राधेश्याम लेकाली, प्रमोद सारङ्ग, रत्न सुब्बा, लालगोपाल सुवेदी, इश्वरी भट्ट, लवकुमार बुढाथोकी लगायतका लेखकहरूकाे पुस्तक विमोचन गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत र मोहन सिटौला तथा वर्तमान केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली सहितको कार्यसमिति र च्याप्टर अध्यक्ष तथा प्रतिनिधि र आजीवन सदस्यहरूको उपस्थितिमा केन्द्र, ट्रस्टी र च्याप्टरबीचमा दरिलो समान्वय कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको थियो । १७ च्याप्टरका बीचमा भएको उक्त छलफलले विधान र आन्तरिक विषयमा दफाबार छलफल गरेको थियो ।सहभागीहरूबाट आएका सुझाव र गुनासालाई केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा केन्द्रीय सचिव लालगोपाल सुवेदी र आजीवन सदस्य रमेश दाहालले संश्लेषण गरेका थिए ।  छलफल कार्यक्रमको सभापतित्व केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला‘ले गरेका थिए।

कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत दोस्रो हुने कोरिया च्याप्टर तथा तेस्रो हुने कतार च्याप्टरलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट च्याप्टर पुरस्कारको प्रायोजन पदम विश्वकर्मा र द्वितीय र तृतीय च्याप्टर पुरस्कारको प्रायोजन निशा अर्यालले गरेका हुन्।  त्यसैगरी यसअघि क्रमशः पहिलो र दोस्रो च्याप्टर सम्मेलनको संयोजन गरेर उत्कृष्ट कार्य गर्ने शान्तिराम ढकाल र कृष्ण गिरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको मूल उद्घाटन सत्रको सञ्चालन केन्द्रीय कार्य समितिका महासचिव महासचिव गणेश घिमिरे र जापान च्याप्टर महासचिव रविन शर्माले गरेका थिए । पहिलो दिनको दोस्रो सेसनमा ५० कविले कविता वाचन गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रामकृष्ण बम मल्ल, प्रतिष्ठानका जापान शाखा अध्यक्ष सूर्य खड्का र समुद्रराज पौडेलले साङ्गीतिक माहोल सिर्जना गरेका थिए । काव्य गोष्ठीको सञ्चालन केन्द्रीय सचिव लालगोपाल सुवेदी र जापान च्याप्टर उपाध्यक्ष हेमन्त गिरीले गरेका थिए ।  जापानस्थित नेपाली दूतावासले कार्यक्रममा सहगाभी साहित्यकारहरूकाे स्वागतमा रात्रिभोज अयोजना गरेको थियो ।

कार्यक्रममा केन्द्रीय समिति तर्फबाट दिइने विभिन्न पुरस्कार प्रायोजन गर्ने भवन भट्ट, पदम विश्वकर्मा एवं दुर्गा दाहाललाई पनि सम्मान गरिएको थियो । अनेसास कोरिया च्याप्टरको गतिविधि र प्रकाशनको काममा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ लाई कोरिया च्याप्टरले अभिनन्दन समेत गरेको थियो ।

अन्तिम सत्रमा च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरूले आआफ्नो च्याप्टरको २ वर्षे कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यो सत्रको सञ्चालन केन्द्रीय उपाध्यक्ष शान्तिराम  ढकालले गरेका थिए । सम्मेलनमा अमेरिका, जापान, कोरिया, नेपाल, भारत, कतार, बेलायत, अस्ट्रेलिया आदि मुलुकको सहभागिता थियो ।

अन्त्यमा जापान च्याप्टरका नवनिर्वाचित अध्यक्ष गिरिजा गैह्रेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको समापन मन्तव्यसँगै तीन दिने च्याप्टर सम्मेलनको औपचारिक समापन भएको थियो ।

उक्त कार्यक्रमले केन्द्र र च्याप्टरबीचको सम्बन्ध मजबुत बनाएको र सबैजसो आन्तरिक समस्याको समाधान भएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।

Logo