श्रीराज खरेलका ३ गजल

श्रीराज खरेलका ३ गजल



मायामा यो समय एकनास हुँदैन
मायामा सबैचीज नाजायज हुँदैन

देख्छु सडकमा युगल केही जोडी
चिचिला मायाको भर्दै छन् दिलभरि
मुटुमा उनेको माया भुल्नु हुँदैन
मायामा सबै चीज नाजायज हुँदैन

देख्दछु फक्रेको थुङ्गासरी माया
ओइलेर नझरोस् यही छ कामना
फक्रेर ओइलिने झर्ने रीत हट्दैन
मायामा सबै चीज नाजायज हुँदैन

नदीझैँ निरन्तर बगिरहोस् माया
किनारझैँ छुटेर नबसोस् यो माया
विना बादल धर्तीमा बर्षात् हुँदैन
मायामा सबै चीज नाजायज हुँदैन

परिचय भएजस्तो बोलाऊँ त बात लाग्ला
नबोलाऊँ नबोलूँ त कतै पाप लाग्ला

आँखामाथि परेलाले बोलाए नै जस्तो
चुपचाप ओठहरूले केही भनेजस्तो
हो त भनी सामु परूँ बाटो फरक पर्ला
नबोलाऊँ नबोलूँ त कतै पाप लाग्ला

धेरैपछि समय नै लमी बनेजस्तो
हृदयमा कता कता साथी मिलेजस्तो
उब्जें मनमा भावना यही खै के पो होला
नबोलाऊँ नबोलूँ त कतै पाप लाग्ला ।


सपनाका कुरा गर
विपनाका कुरा गर ।
जे जे गर्छौ गर तर
इमानका कुरा गर ।।

फूलजस्तै फक्रिएर
सुवास तिमी छर ।
हृदयमा दीप सजाऊ
अँधेरी यो चिर ।।

कैले सतका कुरा गर
कैले झुठका कुरा गर ।
जे जे गर्छौ गर तर
स्वार्थरहित कुरा गर ।।

भावनामा बहकिएर
पाइला चाल्दा व्यर्थ होला ।
सुझबुझले बढ अघि
तिमीलाई कल्याण होला ।।

कैले घामका कुरा गर
कैले जलका कुरा गर ।
जे जे गर्छौ गर तर
कुरा समयका गर ।।

Logo