कारागारलाई पुस्तक हस्तान्तरण

कारागारलाई पुस्तक हस्तान्तरण


तनहुँ
टिम नेपोको सहयोगमा जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामूहिक रुपमा कारागारका सहायक जेलर नारायणप्रसाद अधिकारीलाई उक्त पुस्तक आज हस्तान्तरण गरेका हुन ।

सो अवसरमा कारागारमा पुस्तकालयसमेत स्थापना गरिएको छ । उक्त अवसरमा नगरप्रमुख न्यौपानेले युवा पुस्ताले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहको बताउनुभयो । कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबद्र्धक बनाउन सफलता मिल्ने उनले बताए ।

प्रजिअ आचार्यले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने बताए । टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले अनुसन्धानका क्रममा कारागारमा पुस्तक आवश्यक देखिएकाले यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको जनाए ।

देशैभरीका कारागारमा आवश्यकता अनुरुपका पुस्तक र पुस्तकालय स्थापनाका लागि अभियानकै रुपमा लैजाने उद्देश्य रहेको उनले बथताए । संस्थाले कारागारलाई रु एक लाख १७ हजार मूल्य बराबरका एक हजार पाँच पुस्तक प्रदान गरिएको टिम नेपोका जिल्ला अध्यक्ष गोविन्द तिमिल्सेनाले बताए ।

अभियान अनुरुप शुरुमा अर्घाखाची, स्याङ्जा र तेश्रो जिल्लाका रुपमा तनहुँको कारागारमा पुस्तक वितरण तथा पुस्तकालय स्थापना गरिएको संस्थाका सचिव मीनबहादुर कुँवरले जानकारी दिए । कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरणपश्चात उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्नुका साथै मानसिक स्वास्थ्यका लागि पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी २६९ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

Logo