त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत नेपाली साहित्यका महारथी प्रा डा तारानाथ शर्मा (ताना) लाई रु एक लाख राशिसहित ‘बालकृष्ण सम पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्याई लोकप्रिय तुल्याएबापत नेपाली साहित्यका विशिष्ट साधकद्वय गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’को सम्मानसहित पुरस्कार समर्पण गरिने निर्णय भएको छ । ताम्रपत्रका साथै यो पुरस्कारको राशि रु एक लाख रहेको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार राजन काफ्ले र समाजसेवी श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको छ । त्रिमूर्ति निकेतनको भौतिक सम्भार र संरक्षणमा विशेष योगदान पुर्याएबापत मोहनकृष्ण सापकोटा र ढण्डुराज घिमिरेलाई ‘त्रिमूर्ति सेवा पदक’ समर्पण गर्ने निर्णय भएको छ ।
दश हजार रुपैयाँ राशिसहित यस वर्षको ‘भद्र घले पदक’ विश्वनारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा डा गार्गी शर्मालार्ई समर्पण गरिएको छ । भद्र घले पदक त्रिमूर्ति निकेतनका पदाधिकारी र सदस्यलाई मात्र अर्पित गरिन्छ । भद्रकुमारी घलेको सम्मानमा स्थापित यो पदक यसअघि शताब्दी पुरुष डा सत्यमोहन जोशी, खनुपरुदे रामबाबु प्रसाई, डा मोदनाथ प्रश्रित, प्रा ठाकुर पराजुली, के.के. कर्माचार्य, हरिहर विरही र सलोमी लेप्चाले ग्रहण गरिसकेका छन् ।
त्रिमूर्ति निकेतनको सदस्यमा भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषी मनोनीत भएका छन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले सो निर्णय गरेको हो । यसैगरी नइ प्रकाशनले पनि पुष्पा थापा र तोयानाथ ओडारीलाई नइ प्रकाशनको सदस्यमा मनोनीत गरेको छ । रासस
प्रतिक्रिया