कथा : नियति

कथा : नियति


  • ज्ञानमणि नेपाल कालोटोपी –

केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँचजना छोरीहरू दिनदिनै हुर्किदै थिए । तिनीहरूको लालन –पालन र शिक्षा–दिक्षा, अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित हुनु स्वाभाविक थियो । लाग्दै थियो– छोराको आशामा पाँच छोरीहरूको जन्म हुनुले उनलाई अहिले पछुतो भइरहेको छ ।

जेठी छोरी १५ पुगेर १६ लाग्दै गर्दा उनको विहेको लागि आफन्तहरूकहाँ चहार्दा–चहार्दै थाकेका लालबहादुरलाई एउटा रामै्र ठाउँबाट कुरा आयो । ‘घरपरिवार जमिनदार छ , छोरीले काम गरेर खान सक्ने ठाउँ छ । नजिकै पनि छ । केटाचाहिँ त्यति भरपर्दो छैन । तैपनि परिवार रामै्र छ ।’ – कुरा मिलाउनेको पूरै विश्वास लाग्यो लालबहादुरलाई । भर्खर १६ वर्ष मात्रै लागेकी जेठी छोरी सुन्तलीको बिहे गराउन हतार उनलाई आफन्तको कुरामा पूरै विश्वास थियो । तर पनि केटा र उसको घर नहेरी त कसरी निधो गर्ने ? सोचेर उनी एकपटक केटाको घर हेर्न जाने निर्णयमा पुगे ।

====
घर त ठिकै छ, परिवार पनि ठिकै होला । तर केटा..!? लालबहादुरलाई केही शंका लाग्यो । तैपनि जग्गा जमिन छ, कमाएर खान सक्छे, केही फरक पर्दैन । अन्तिम निर्णय उनले यही गरे । केटा पक्षले पनि सहमती जनायो । अब केटी हेर्न जाने सल्लाह भयो । केटाकेटीलाई सँगै भेट गरायो भने कुरा बिग्रन पनि सक्थ्यो । केटीले केटा मन पराइन भने के गर्ने ? शंकाको घेरामा रहेका उनीहरूले केटाकेटीको भेट नगराउने तर केटा पक्षका आफन्तहरू केटी हेर्न जाने निर्णयमा पुगे ।

निर्णय अनुसार नै केटा पक्षहरू केटी हेर्न लालबहादुरको घर गए । केटी निकै चलाख रहिछे त । सानै उमेर भए पनि घर व्यवहार सबै धान्न सक्ने देखे केटा पक्षले । केटाकेटीको सामान्य देखभेट नगराई पनि सुन्तलीको बिहे हुने निश्चित भयो । विवाहको साइत केही दिनमा निर्णय गरिने सल्लाहमा उनीहरू विदा भए । जसको बिहे उसैलाई देख्न नदे, भन्ने नेपाली उखान जस्तै थियो त्यहाँको अवस्था । जतिबेला सुन्तली र रनेको विवाहको कुरा छिनियो त्यतिबेलासम्म उनीहरूबीच एक अर्कामा देखभेटको त के आफूहरूमा विहे हुदै छ भन्नेसम्म पनि थाहा थिएन । बिहे हुने दश दिन अगाडि लालबहादुरले छोरीलाई यथार्थ कुरा बताए । सुन्तली केही बोल्नै नसक्ने भई । भर्खर ६ कक्षा पढ्दै गरेकी र आफ्नो निर्णय राम्ररी घरपरिवारसँग राख्न पनि नसक्ने उमेरकी सुन्तलीका सामु बाबुको निर्णय काट्ने सामथ्र्य पनि त थिएन । कुनै प्रतिक्रिया जनाउन सकिनन् उनले । मौन सर्मथन जनाए झैं गरिन् । साथीसँगीहरू सुन्तलीलाई जिस्क्याउने गर्थे विहेको विषयलाई लिएर । तर सुन्तली कुनै प्रतिक्रिया दिन सक्दिनथिन् । अवस्था पनि त्यस्तै थियो । मानौं बुबाले गरेको निर्णय उनका लागि त्यति स्वीकार्य थिएन होला, तर के गर्नु, अन्य विकल्प पनि त थिएन ।

====
बिहेको दिन आयो, घरमा रमझम हुदै थियो । सबै विहेको रमाइलोमै झुमेका थिए । तर सुन्तलीको मन त्यसै–त्यसै उदास थियो । १६ वर्षको जन्मघर छोडेर नयाँ कर्म घर जाँदै गर्दा उनका मनमा धेरै कुराहरू खेलिरहे । नयाँ घर कस्तो होला ? जीवनसाथी कस्तो होला, आदि–आदि । बिहे सकियो घरपरिवार त ठिकै लाग्यो । तर उसको कर्मघर सोचेभन्दा धेरै फरक थियो । रनेकी आमा बिरामी थिइन् । उमेर उस्तै भए पनि रने सुन्तलीभन्दा शारीरिक रूपमा कमजोर थियो । बिग्रिएको रनेको घरलाई सपार्ने जिम्मेवारीबोध सुन्तलीमा छँदै थियो । त्यसमाथि श्रीमान् रनेको रेखदेख र अन्य पारिवारिक बोझ ।

समय बित्दै गयो । बिहे गरेको एक महिनापछि रनेकी आमाको मृत्यु भयो । त्यसपछि सुन्तलीलाई अझ पारिवारिक बोझ थपियो । घरपरिवारभित्रका हरेक उल्झनहरूसँग संघर्ष गर्नु पर्ने बाध्यता थियो, सुन्तलीलाई । तर १६ वर्षे उमेरमै सबै कुराहरूको बोझ थपिंदा उनलाई समाधानको बाटो पत्ता लगाउन पनि गाह्रै थियो । जसोतसो सकेको गर्नु र नयाँ कुराहरूको अनुभव लिनु सुन्तलीको जिन्दगीको अर्को पाटो थियो ।

उमेर सानै भए पनि विहे गरेको २ वर्षमा सुन्तलीले छोरा जन्माइन् । नयाँ सदस्यको आगमनले केही खुसी ल्याए पनि सुन्तली र रनेमा थप जिम्मेवारी थपियो । ८ कक्षामा पढ्दै गरेको रनेले घरपरिवारको बोझले गर्दा पढाइ छोड्यो । सानै उमेरमा उनीहरूले जीवनको एउटा व्यावहारिक पक्ष अँगाल्न पुगे । समयको अन्तरालसँगै सुन्तली विस्तारै पुरै घरपरिवार सम्हाल्न सक्ने भइसकेकी थिई । अब घरमा के गर्ने के नगर्ने सबै कुराको निर्णय गर्न सक्ने भएकी थिई, सुन्तली ।

जन्मिएको छोरा एक वर्षको भएको हुनु पर्छ, सुन्तली अकस्मात विरामी भई । अनौठो व्यवहारले उसलाई के रोग लागेको हो भन्ने पत्ता लगाउन गाह्रो थियो । थरथर काँप्ने , नयाँ होस् वा पुरानो कोही मान्छे देख्नै नहुने, जे भेट्टायो त्यसैले मान्छेलाई आक्रमण गर्ने । आफ्नै कपाल बेसरी उखेल्ने, हातका औंलाहरू छिन्ने गरी टोक्ने आदि अचम्मका लक्षणहरू देखिन थालेपछि घरपरिवार र छिमेकीहरू अचम्मित थिए ।

के भएको हो र उपचार के होला भनेर कसैले अनुमान गर्न पनि नसक्ने रोगले सुन्तलीलाई थला पार्‍यो । कसैले भूत लागेको त कसैले तन्त्र–मन्त्रको दोष देखाउन थाले । अप्रत्यासित रूपमा देखिएको यो समस्याले रनेको परिवार पनि चिन्तित थियो । के गर्ने के रनभुल्लमा पर्‍यो रने । उपचारका लागि धामी झाँक्रीदेखि अस्पतालसम्म पु¥याइयो तर रोग पत्ता लागेन । बिरामी भएको झण्डै २ महिनासम्म पनि रोग पत्ता नलागेको र उपचारमा समस्या भएपछि सुन्तली सुकेर दाउराजस्तै भएकी थिइन् । उपचारका लागि धेरैतिर चहार्दा चहार्दै के ले प्रभाव पा¥यो कुन्नि, उनको अवस्थामा केही सुधार आयो । दिनमा २-४ पटक सम्म बेहोस हुने सुन्तलीलाई हप्तामा १-२ पटक मात्र त्यस्तो समस्या देखा पर्न थाल्यो । विस्तारै महिनामा २-४ पटक यस्तो हुदै करिब ६ महिनापछि पूर्णरूपमा निको भए जस्तै देखिन थाल्यो । रनेको परिवारमा यसपटक एउटा ठूलै दशा टरेजस्तै भयो । सुन्तलीको स्वास्थ्यमा सुधार आएपछि परिवार खुसी हुनु स्वाभाविक पनि थियो ।

पूर्ण रूपमा ठीक नभए पनि विस्तारै ठीक हुने क्रममा थियो सुन्तलीको अवस्था । यही त हो घरपरिवारमा, एउटी महिलालाई घरको सबै घरव्यवहार धानेर सन्तान जन्माउने काम पनि प्रकृतिले नै सुम्पेको छ । सुन्तलीले बिहे गरेको ५ वर्षमा अर्को बच्चाको पनि आमा हुनु पर्‍यो । पहिलो बच्चा छोरा भए पनि दोस्रो वच्चा छोरी जन्माइन् उनले । अव त्यो घरमा परिवार संख्या पनि थपियो, जिम्मेवारी त पुरानै हो । सुन्तलीले आफ्ना २ बच्चा, श्रीमान् , देवर, नन्द, ससुरा र आफ्नो पनि रेखदेख गर्नुपर्ने । अझ कहिलेकाहीँ पुरानै व्यथा बल्झिने क्रम पनि छँदै थियो ।

आएका हरेक समस्याहरूसँग संघर्ष गर्न राम्ररी जानेकी सुन्तलीका २ वच्चाहरू करिव करिव हुर्किएका थिए । छोरा ८ वर्ष छोरी ५ वर्ष , विहे भएको पनि १० वर्ष भइसकेछ । उमेरले पनि २५ वर्ष पुगेर सुन्तली २६ वर्ष भर्खरै लागेकी थिइन् । कहिलेकाहीँ देखिने पुरानो व्यथा पुनः बल्झियो उनलाई । पहिलेभन्दा अझ अन्य लक्षणहरू थपिएर आएको पछिल्लो व्यथाले अलि अलि गर्दा गर्दै विस्तारै सुन्तली थला पर्न थालिन् ।

====
अस्पताल जाँदा कुनै समस्या देखाउँदैन । घर आयो टाउको दुख्ने, रिंगटा लाग्ने, खाना खान मन नलाग्ने यस्तै यस्तै समस्याले गर्दा रनेको परिवारमा पुनः नराम्रो हुने लक्षण देखा पर्न थाल्यो । व्यथा शुरु भएदेखि धामीझाँक्री र अस्पताल धेरै धायो रनेले तर कुनै पनि शुभ संकेत देखिएन । अब के गर्ने के ? यस्तैमा एकदिन मध्यरात सुन्तलीलाई धेरै समस्या भयो । पुरै बेहोस, इन्तु न चिन्तु । अर्को अर्थमा भन्दा झण्डै सुन्तलीको अन्तिम अवस्था । छरछिमेकीहरू सबै जुटे । पुनः अस्पताल लैजाने निर्णय गरेर राती नै एम्बुलेन्स बोलाएर अस्पताल लगियो । इमर्जेन्सी वार्डमा राखेर उपचार गराइँदै गर्दा अस्पतालले विरामीलाई कुनै पनि रोग लागेको छैन, भिटामिनको कमीले यस्तो भएको हो । घर लगे हुन्छ भनेर जवाफ दियो । भोलीपल्ट केही सुधार भएजस्तो देखियो पनि । आफन्तहरूले विरामीको यस्तो अवस्था छ, हामी घर लैजादैनौं । २ दिन अस्पतालमै राखेर उपचार गराइयोस् भनेर अनुरोध गरे । मुस्किलले अस्पतालले २ दिनको लागि भर्ना गरिदियो । बिहान होस खुलेको बिरामी अस्पतालकै बेडमा बेलुका पुनः बेहोस भइन् ।

अब बिरामीको अवस्था सुधार हुने सम्भावना धेरै कम देखियो । अस्पतालले अन्तिम अवस्थामा आएपछि तपाईको विरामीलाई त मेनेन्जाइटिस् (मस्तिस्क ज्वरो) भएछ भनेर रिपोर्ट थमाइदियो । अघिल्लो दिनमा केही नभएको बताउने अस्पतालले भोलिपल्ट विरामीलाई आइसीयूमा भर्ना गरायो । आइसीयू त बहाना मात्र थियो, बिरामीको अन्तिम अवस्था भइसकेको थियो । तैपनि अस्पतालले महङ्गो चार्ज लाग्ने त्यो आइसीयू कक्षमा पूरै ३ दिन राख्यो । अस्पतालको चार्ज वढेर झण्डै एकलाख भन्दा बढी पुग्यो । सुन्तलीको अवस्थामा सुधार आउने संकेत पनि थिएन । बिरामीको सास पनि छैन, धनको आश पनि छैन । रनेलाई यो अवस्थाले पिरोल्नसम्म पिरोल्यो । अस्पतालमा राखेको ३ दिनपछि सुन्तलीलाई पूर्ण रूपमा मृत घोषित गरियो । अब के गर्ने, रनेको परिवारमा यसपटक ठूलो बज्रपात पर्‍यो । एकातिर पारिवारिक चिन्ता, अर्कोतिर श्रीमतीको मृत्यु र अस्पतालको खर्च । यसले रनेलाई केही सोच्नै नसक्ने बनाइदियो । अस्पतालले गरेको हेलचेक्र्याइँकै कारण एउटी २६ वर्षीय युवतीले अकालमै ज्यान गुमाउनु पर्‍यो ।

====
समयको क्रम या भनौं नियति, सुन्तली त मरेर गइहालिन् । दुर्दशा शुरु भयो उनका २ बच्चाहरूको । आफ्नी आमाको मृत्यु भएको ती वच्चाहरूलाई खवर दिइएको थिएन । आफूहरू स्कुल जाँदा आमालाई घरको ओछ्यानमा बिरामी अवस्थामा देखेका उनीहरूलाई आमा बिरामी भएर अस्पताल लगेको र केही समयपछि फर्केर आउँछिन् भन्ने खबर बताइएको छ । तर आफूलाई जन्म दिने आमालाई सधैंका लागि गुमाइसकेको उनीहरूलाई अहिलेसम्म पत्तो छैन । समयले दुखाइदिएको घाउ रनेको परिवारमा त्यही समयले नै निको बनाइदेला, रनेले अर्की सुन्तली बिहे गर्ला । पहिलेको सुन्तलीको अभाव रनेका लागि पूरा होला तर ती बच्चाहरूका लागि आमाको माया अब सधैंका लागि क्षितिजपारिको विषय बनेर रहनेछ, जिन्दगीभरिका लागि ।

अचेल सुनिन्छ, सुन्तलीको मृत्यु भएको ६ महिना भयो । उसका बालक छोराछोरीहरू आमा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छन् । अनि रनेलाई पनि घरबाट अर्को विवाह गर्ने दवाव आउन थालेको छ । रने अहिले यी दुवै विषयमा अनुत्तरित छ ।
====

Logo