कविता : ऊर्मी

कविता : ऊर्मी


  • ऋषभदेव घिमिरे –

केवल समय मात्र
यतिबेला सूत्रबद्ध छ
छैनन् मत्स्यगन्धाजस्ता
कुनै सत्यवतीहरू
कोही हुन सकेनन्
कृष्णद्वैपायनको पराशर ।

ऊर्मी तिमी नै हौ
जगतकी ईश्वरीय ऋचा
ज्ञान, विज्ञान र तत्वदर्शीकी त्रिवेणी
शाश्वत सत्य नै हो
बन्दैनन् ऋषिविनाका ऋचाहरू
जन्मँदैनन् ऊर्मीविनाको व्यास र बुद्ध
ऊर्मी तिमी नै हौ
सृष्टिको सूत्रबद्ध रचना ।

म लेखाउन सक्दिन
स्वनामधन्य विद्वानहरूबाट
वेद र अठार पुराण
मलाई उनन्तीसौं व्यास चाहिएको छ
छैटौं बुद्ध चाहिएको छ
मेरी प्रिय ऊर्मी
के तिमी मलाई दिन सक्छ्यौ
यो कल्पमा एउटा अर्काे व्यास र बुद्ध ?

ऊर्मी म तिमीबाट
दीक्षित हुन चाहन्छु
तिम्रै गर्भमा छन्
वाङ्मय स्वरूप
म यो कल्पको पराशर भएर
उपहार दिन चाहन्छु
ज्ञान पुञ्जहरू
ब्रह्मसूत्रले युक्त बनाएर
तिमीबाटै जन्माउन चाहन्छु
दुई मेधावी सन्तान !

Logo