प्रकाश बस्नेतको १५ मुक्तक

प्रकाश बस्नेतको १५ मुक्तक


 १

सियोले फलामलाई घोपी कहाँ घोपिन्छ र ?
विनापानी बाँझो खेत रोपी कहाँ रोपिन्छ र ?
नगरे हुन्छ हत्केलाले सूर्य छेक्ने धृष्टता
छोपे छोपिन्छ बुढ्यौली, बैँस कहाँ छोपिन्छ र ?

नबोले पनि आँखाले बात जनाइहाल्छ
त्यही अँखाले बैंसको मात जनाइहाल्छ ।
साधु बन्न कहाँ सजिलो हुन्छ र
जवानी हो, जवानीले जात जनाइहाल्छ ।।

 ३.

तिर्सनाले काँक्रै खोज्छ त म के गरुँ ?
उखुको नि लाँक्रै खोज्छ त म के गरुँ ?
नरिसाउ तिम्लाई  पछ्याइरह्यो भनेर
लहराले थाँक्रै खोज्छ त म के गरुँ ?

४.

संगीत दिवसमा मात्रै गीत गाएर हुन्छ र ?
दिवसका लागि मात्रै दिवस मनाएर हुन्छ र ?
प्रगतिका लागि त हमेसा हुनुपर्छ त्यस्तै काम
प्रणय दिवसमा मात्र म्वाइँ खाएर हुन्छ र ?

  ५.

यी आँखा उदाङ्ग छन्, पस्ने ठाउँ खोज्छौ तिमी
वदन पूरै सुम्पेकै छु, डस्ने ठाउँ खोज्छौ तिमी।
बुझेर नि नबुझेझै नगर न घरीघरी
यता काख खाली नै छ, बस्ने ठाउँ खोज्छौ तिमी ?

 ६.

राम्रा विचार राख्नेहरु सून्दर फूल बन्छन्
प्यास बुझाइ दिनेहरु पवित्र मूल बन्छन् ।
यो जुनीमा राम्रो गरे राम्रै हुन्छ अर्काे जुनी
तिर्खाउँदा दिन्नँ भन्ने काकाकूल बन्छन् ।।

 ७.

जोगी हुन जोगीकै भेष धर्नुपर्छ
स्वर्ग नर्क थाहा पाउन आफैँ मर्नुपर्छ ।
जति माया दिन्छौ तिमी, त्यति पाउने हो
पैसा बनाउन नि पैसै खर्च गर्नुपर्छ ।।

  ८.

मलाई त्यो प्रेमि मन देऊ न एक पटक
प्रेम गर्ने प्रेयसी बन्देउः न एक पटक।
कस्तो सुनिन्छ होला आहा सुन्न उत्सुक छु म
‘मलाई माया गर्छु’ भन्देऊ न एक पटक ।।

   ९.

पुसको पारिलो घाम होस्, तब न मज्जा आउँछ
झुरुमझुरुम बदाम होस्, तब न मज्जा आउँछ।
लागेपछि सबै परिवारहरु लाखापाखा
तिम्रोमा जरुरी काम होस्, तब न मज्जा आउँछ ।।

१०.

तिमी आकार बन्दा मलाई ईकार बन्न मन छ
तिमी निर्मल बन्दा मलाई विकार बन्न मन छ।
किन होला निकै हठी बन्दै छ यो मन अचेल
तिम्लाई बघिनी बनाई शिकार बन्न मन छ ।।

११.

खुशीको रङ पोल्ने पनि माया नै हो
हृदयको ढोका खोल्ने पनि माया नै हो।
खुशी, उमङ् मात्र हैन रैछ माया
जीवनभरि पोल्ने पनि माया नै हो ।।

१२. 

आफ्नै मनले आफैँलाई टेर्न छाडेको छ
ऋचेल रहरले पनि बेर्न छाडेको छ
जबदेखि तिमी मेरो नजरमा आयौ
यी आँखाले फूलबारी हेर्न छाडेको छ

  १३.

सौन्दर्य नै मनलाई तान्ने हो, कस्तो नबुझ्या
आँखाले पनि यस्तै यस्तै छान्ने हो, कस्तो नबुझ्या ?
त्यो नजरले वाण हानिस् नभन्नू है मलाई
फलेकै रुखमा झटारो हान्ने हो, कस्तो नबुझ्या  ?

 १४.

चामल हुन नसके त्यो धानको के मतलव
पुण्य हुन नसके त्यो दानको के मतलब।
तोलाको वचन खोलामा फालेपछि
बेमौसमी त्यो मुस्कानको के मतलब ।।

  १५ .

तिम्रो झुटो मायामा लुटपुटिएँ, के फरक पर्‍यो र
पश्चातापले आफैँ भुटभुटिएँ, के फरक पर्‍यो र।?
देश बनाउँछौ भन्नेले नै देश लुटिरहेकाछन् अचेल
लुटाउँछु भन्नेबाटै म लुटिएँ, के फरक पर्‍यो र ??

 

प्रकाश बस्नेत गफाडीको  ‘हजारको नोट’ मुक्तक संग्रहबाट

Logo