सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा

सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता । वर्ल्ड हाइकु एसोसिएसनले सन् २०२० मा हुने विश्व हाइकु सम्मेलन नेपालमा गर्ने निर्णय गरेको छ । नेपाल सरकारको पर्यटन वर्ष २०२० लाई सघाउ पुर्याउन आफ्नो तर्फबाट सानो प्रयास स्वरूप यो कार्यक्रम गर्न लागेको वर्ल्ड हाइकु एसोसिएसनका अध्यक्ष तथा जापानी नागरिक बान्याना चुइशीले बताएका छन् । हाइकु एसोसिएनको जापानको टोकियोमा भएको १० औं विश्व सम्मेलनमा उक्त निर्णय भएको हो ।

सम्मेलनमा जापान, बेलायत, अमेरिका, इटली, फ्रान्स, हंगेरीसहित १७ देशका हाइजिनहरू सम्मिलत थिए । नेपालबाट हाइकु सम्मेलनमा भाग लिन पुगेका प्राध्यापक रामकुमार पाँडेका अनुसार नेपालमा हुने उक्त विश्व सम्मेलनमा विश्वभरि छरिएर रहेका चर्चित हाइजिनहरूको ११ औं सम्मेलन गरिनेछ । कार्यक्रमको जिम्मा पाँडे अध्यक्ष रहेको नेपाल हाइकु केन्द्रले लिने भएको छ ।

‘विश्वप्रशिद्ध हाइजिनमार्फत नेपालको पर्यटनको प्रचार प्रसार गर्न सकिन्छ भन्ने अभिप्रायले नेपाली नागरिक प्रकाश पौडेल ‘माइला‘को पहलमा ११ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको हो । ‘सम्मेलनबाट फर्किएलगत्तै पाँडेले केन्द्रविन्दुसँग भने, ‘साहित्यको माध्यमबाट पनि सरकारका राम्रा निर्णयहरूलाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन पनि खोजेका हौँ ।’ टोकियोमा सम्पन्न दसौं विश्व सम्मेलनमा बेलायतबाट नेपालका कृष्ण बजगाईं एवं जापानबाट आलोेक चालिसे र प्रकाश पौडेल ‘माइला‘ सहभागी थिए । १५ वर्षदेखि जापानमा बसोवास गरिरहेका माइला वर्ल्ड हाइकु एसोसिएसनका केन्द्रीय कार्य समितका सदस्य पनि हुन् ।

कार्यक्रममा हाइकु लेखनका विविध आयामका विषयमा चर्चा भएको थियो । ३ दिन चलेको उक्त कार्यक्रममा हाइकु लेखन, अनुवाद कौशल तथा हाइगा प्रदर्शन भएका थिए । कार्यक्रमको मुख्य आकर्षण हाइकु वाचन एवं कृति विमोचन थिए । एउटा सेसनमा नेपालको हाइकु लेखनको इतिहास र वर्तमानका चुनौती’ विषयमा बहस कार्यक्रम राखिएको थियो । एसोसिएसनले नेपालका पाँडेलाई वर्ल्ड  हाइकुको मानार्थ सदस्यता पनि प्रदान गरेको छ ।

जापानी साहित्यमा हाइकुको विशिष्ट स्थान छ । जापानमा हाइकु लेखनलाई सबैभन्दा गम्भीर विधा मानिन्छ । हाइजिनहरूले लेख्ने विषयलाई जापानी सरकार र जनताले गम्भीरतापूर्वक लिने गर्दछन् ।

Skip This
Logo