कविता : हामी भुइँमान्छेहरू

कविता : हामी भुइँमान्छेहरू


  • सुरेन्द्र लिम्बू परदेशी –

हिजो
रमिते चौतारीमा बस्दा
सुनिएको न्याउली धुन
बजाइएको बाँसुरी
कुर्लिएको पकन्दी
अनि गुन्जिएको पालाम र रोधी

आज
समयको गतिसँगै
पातलिएका छन्
सायद तिनै आदिम लयहरूको प्रेमले
न्यानो घाम लागेपछि बिलाई जाने
हिउँदे हिउँमाथि देखिएको
सोक्पाको उल्टो पाइला पछ्याए झैं
वैचारिक अग्रगमनको बाटो पछ्याउँदै छौँ
हामी भुइँमान्छेहरू ।

मथिङ्गलको कुनै कुनाबाट निस्किएर
मेरो एउटा निराकार जिज्ञासा
निक्कै दिन अघिदेखि
एलियनको रूप र आकार खोज्न
यो शून्य ब्रह्माण्डतिर बेखबर भएको छ
ए उडनतस्तरी, मेरो निराकार
जिज्ञासाको उत्तर लिएर कहिले आउँछौ ?

तिम्रो तीव्र गतिको आगमनलाई हेर्न
अर्बौं प्रकाश वर्ष निगरानी गर्न सक्ने
यो हब्बल टेलिस्कोपको छायामुनि
व्यग्र प्रतीक्षामा बसिरहेका छौं हामी भुइँमान्छेहरू ।

सायद अब आयामिक चिन्तन
र चेतनाका आवाँगार्दहरू
आर्टिफिसियल इन्टेलिजेन्सको उत्खनन् गर्न
हडप्पाको चिहान खन्दैनन्
मोहनजोदारो, लोथल र कालिबङ्गमा
समय यात्राको अपेक्षा गरेर
पुरातात्विक डोजर पनि चलाउँदैनन्
क्लियोपेट्राकोे कामुक सुन्दरतालाई
विचारको मुर्कुट्टा वा भ्रमको बुख्याँचा देखेर
अल्गोरिदमको परिधि पनि भत्काउँदैनन्
मंगल ग्रहमा आफन्त भेट्न हिँडेका
ती अनगिन्ती आयामिक यात्रीहरू
गुरुकुल र सिन्धु सभ्यताको बाटो छाडेर
बरु हिड्ने छन् स्पेस एलिभेटरको मसिनो रिबनमा
या त हिँड्ने छन्
इलोन मास्कको सुपरसोनिक यानमा
यही कुरा त स्वीकार्न चाहँदैनौं
हामी भुइँमान्छेहरू ।

तिम्रो पुरातन सभ्यताको सुदूर बस्तीहरूमा
मानवीय मूल्य र मान्यतालाई प्रत्यारोपण गर्न
म आयामिक चेतनाको टेराफर्मिङ गर्न चाहन्छु
भोलिका सन्ततिहरूले पनि त सुन्नु छ
क्यान्सर लागेर अथवा एड्स लागेर
उहिले मान्छेको ज्यानै जान्थ्यो भन्ने
कुनै समयको अपत्यारिलो सत्य र
त्यही अपत्यारिलो सत्यको पात्र हामी भुइँमान्छेहरू ।

(कवि लिम्बू विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष हुन् ।)

Logo