कथा : बर्बादीको बस्ती

कथा : बर्बादीको बस्ती


  • कृष्णप्रसाद अर्याल –

भुकम्पले चर्किएको घरको अगाडि उभिएको छु । चर्किएको मनको अगाडि टुप्लुक्क आइपुगेर उभिएको प्रेम प्रस्तावजस्तो । कुरा घरको होस् या मनको काम चलिरहेकै छ । विश्वासको दलिन हल्लिएको हो, निस्किसकेको छैन मनको गारोबाट ।

पख्नुस्, चर्चा घरको बाँकी नै छ । आँटीको भित्तानिर टपक्क टाँसिएको छ बिजुलीको मिटर जो आँगनबाटै देखिन्छ । मिटरकै छेउमा लामो बारुलाको गोलो छ । सुने बारुलो रहेछ । सुनरङका बारुला पालो पालो उडिरहेछन् । ढुङ्गाको छानो छ पालीमा । छिद्रबाट सुनौलो किरण बटारिदैं खसेको छ आँटीमा । उतापट्टि नाङ्लोमा डल्ले खुर्सानी सुकाइएका छन् । रातो साडी लगाएकी डल्ली केटी गोलो आँगनमा उभिएजस्तो । यही हो हाम्रो घरको आँटीको चुस्तदुरुस्त वर्णन । म भनें पिँढीको खाटमा बसेर मोबाइल किचकिच पारिरहन्छु । बिट फर्केको गिलासमा चिया ल्याइदिदै आमा भन्नुहुन्छ, ‘कहिल्यै पुगेन तँलाई मोबाइलमा घोप्टिएर ?’

दिनको कम्तीमा तीनपटक लिने गर्छु उक्त वाणी । बिहान खानासँग, दिउँसो चियासँग, साँझ सुत्ने बेलामा । त्यो दिन भनें आमा मन्दिर जानुभयो । कृष्ण जन्माष्टमी थियो । घर हेर्ने जिम्मा मलाई थियोे । एक फन्को हेरेँ घर । बाछिटाले हानेर तलतल बगेका कमेराका धर्साहरू भित्तामा । भर्खरै गालामा आँसु बगेजस्तो । बिचबिचमा माटोको पाप्रा उप्किएर ढुङ्गा देखिएका । छाला उप्किएर हाड देखिएको शरीरको कुनै भागजस्तो । पानी चुहिएर लेउ लागेको कतै कतै । कालो । धेरै दिन ननुहाएको मान्छेको काखीजस्तो ।

घर त बिरामी रहेछ । घाइते रहेछ । बूढो भइसकेछ । कोही बस्न छोडेपछि , कसैले छोडेर गएपछि छोटो समयमै बूढो देखिँदो रहेछ , रोगी देखिँदो रहेछ ,घाइते देखिँदो रहेछ । घर किन नहोस्, मान्छे नै किन नहोस् ।

घरको सुरनिर हात राखेर मनमनै भनें, ‘दशैंमा उपचार गर्छु तँलाई । निको गराउँछु । चिटिक्क पारिदिन्छु । कमेरोको कमिजमा तल रातो माटोको पाइजामा लगाइदिएर चिटिक्क पार्छु तँलाई । जवान बनाउँछु । पुरिदिन्छु घाउहरू, मेटाइदिन्छु दागहरू, दाह्री मिलाइदिन्छु तेरो ।’

घरको तगारोबाट निस्किएर मोटरबाटो छेउको एकचोक्टा शीतलमाथि बसेँ । आडमै छ बाँसघारी । त्यसैको छाया लटरम्म फलेको छ म उभिएको ठाउँमा । बाँसमा नाम लेखेको थिएँ मेरो अनि उहाँको । हँसियाको चुच्चोले खोपेर । एकदिन कुन्नि के लाग्यो मलाई । बिहानै आएँ र मेरो नाम हँसियाको धारले तासिदिएँ । अघिल्लो रात मलाई ब्रह्म ज्ञान भएको थियोे– ‘कसैलाई दिलबाट हटाउन सकिँदैन भने आफ्नो दिलबाट आफैँ हट्नु उत्तम विकल्प हो ।’

मलाई उहाँको नाम मेटाउन मन लागेन । आफ्नो नाम मेटाइदिएँ । आज पनि छ बाँसमा नाम । तर एक्लै छ । मान्छेसँग त मलाई केही सोध्नुछैन तर त्यो नामलाई सोध्ने मन छ, ‘एक्लै हुँदा मेटिएको नामको याद हुन्छ कि हुँदैन ?’

घाम पनि कस्तो उखरमाउलो । छि ! एकछिन घाममा उभिएँ भनें पग्लिएर सकिन्छु म । कपडा मात्रै बाँकी रहन्छन् ।

यस्तो घाममा छायाजस्तो तनक्क तनक्क तन्किदै कोही आइरहेछ उकालो उकालो । नजिक आएपछि देखें भगवान कृष्ण रहेछन् । त्यसै त कालो । घामले डढेर छायाभन्दा कालो देखिएका । बाटोमा त दुईवटा छाया एकसाथ हिँडेजस्तो । चरण परें । घरमा लगेर जलपान गराएँ ।

उति बेलै रिसाउँदै भनें, ‘मलाई त्यही मान्छेसँग चैं किन चिनजान गराइदिनु भो ? संसारमा अरू कोही थिएनन् ?’

एकछिन केही बोलेनन् । एकछिनपछि निरास हुँदै भने, ‘मलाई के थाहा त नि तैंले त्यो मान्छेसँग प्रेम गर्लास् भन्ने कुरा, मैले त केही धोका दिने तरिका सिक्लास् भनेर चिनजान गराएको ।’

मैले मुख बङ्ग्याउँदै भनें, ‘खुब भएछ !’

मेरो कुरा सुनेर अचम्म लागिरहेको होला है हजुरलाई । सत्य, म साँचो साँचो मात्रै बोलिरहेको छु । हाम्रो बहुत राम्रो सम्बन्ध छ ।

मेरो रिस अझै मरिसकेको थिएन । फेरि सोधें, ‘यो घाममा किन यसरी मुन्टिबक्स्या नि ?‘

—बर्थ डेमा सबैलाई उत्सुकता हुन्छ नि । कस्तो रहेछ तयारी भनेर हेर्न आको ।

—घामको ब्राइडनेस घटाएर आको भए पनि त हुन्थ्यो उटाट आउँदा । कम्ता गर्मी छ याँ ।

—मन्त्रीको सवारीजस्तो हैन नि त । सिस्टम बिगार्न मिल्दैन । मान्छेहरू खाली खुट्टा हिंडे म पनि खाली खुट्टा हिँड्छु । नियम सबैलाई बराबर । नियम बनाउनेलाई पनि नियम लाग्छ ।

—फेसबुकमा हजुरको कम्ता विरोध गर्छन् अचेल ! कहिल्यै जानुहुन्छ त्यता ?

—म त जान्न त्यता । मैले बनाएको दुनियाँ हैन त्यो । के भनेर विरोध गरे मेरो ?

— १६ सय तरुनी लिएर हिँड्यो । ऊ चैं भगवान, हामी चैं चरित्रहीन ? भन्दै थे ।

एकछिन चुप लागे कृष्ण । अनि फेरि भने, ‘कतिजना स्त्रीलाई चीरहरण हुनबाट जोगाएछन् तिनेरुले ? सोधिनस् ?’

मैले केही भनिन । चिया खाने कुरा भयो । म चिया बनाउन लागें । उनी बाहिर खाटमा, म भित्र किचनमा । कुरा चलिरहँदा म डाडु हातमा समातेरै ढोकासम्म आएर कुरा थप्थें । उत्तर दिन्थें । प्रश्न गर्थें ।फेरि दगुर्दै अगेनामा पुग्थें । चिया उम्लिन्छ कि भन्ने डरले ।

— चियामा टिमुर राखौं कि नाइँ ?

— दुई चार दाना राख् । सुस्त रमरम आओस् स्वादमा ।

चिया लियौं हामीले । कुराहरू चलिरहे । उनले एउटा बस्तीको वर्णन गरे । सुरुमै भनेका थिए, ‘हुन त त्यो बस्तीमा तँ पनि गएको हुन सक्छस् ।’

श्रीकृष्ण उवाच—समाज र धर्मको मुहानभन्दा अलिक माथि छ एउटा सुनौलो बस्ती । टाढाबाट हेर्दा बगैंचाजस्तो देखिन्छ । बस्तीको बीचबाट थोरै तेर्सो हिंडेर उकालो उकालो हिंडेको छ एउटा बाटो । देख्ने हरकोहीलाई एकपटक हिडूँ हिडूँ लाग्छ त्यो बाटो ।

बस्तीको प्रवेशद्वारको माथि ठूलो अक्षरमा ‘विदाइ’ लेखिएको छ । म गम खान पछि पर्दिनँ । मैले देखेका हरेक गेटहरूमा स्वागतम् लेखिएका थियो । यो नै पहिलो यस्तो गेट थियो जहाँ विदाइ लेखिएको छ ।

केही पाइला हिंडें । बाटो कस्तो सुन्दर रहेछ । रुखका हाँगामा जुरेली नाचिरहेका । भर्खरै घाम लागिरहेको । गुलाबका पत्रमा शीत टल्किरहेको ।

अलिक टाढा पुगेपछि बाटो अलिक अफ्ठेरो लाग्न थाल्यो मलाई । फूल झरिसकेका काँडा मात्रै बाँकी रहेका बोटहरू देखिन थाले । जति हिँड्यो त्यति नै अफ्ठेरो बाटो आउथ्यो । मलाई पनि हिँड्न गाह्रो परिरहेको थियो ।

बाटोमा थरिथरिका मान्छे भेटिए ।

खुट्टा भए जुत्ता कति कति भन्ने अहंको भारी बोकेकाहरू पनि यतै खाली खुट्टा हिंडिरहेका देखिए । एक कप चियाको भरमा सारा कहानी सुनाउनेहरू पनि त्यतै भेटिए । विचारमा पागलपन भएकाहरू पनि त्यति भेटिए । सबैभन्दा धेरै त त्यहाँ केही पनि बोल्न नचाहनेहरू थिए ।

धेरैलाई सोधें मैले त्यो बस्ती र बाटोको बारेमा । कसैले केही बताएनन् । जसोतसो मैले त्यो बाटो काटें । एउटा सुनौलो द्वार आयो फेरि । म जब त्यो द्वारबाट निस्किएँ ,साच्चिकै अर्कै दुनियाँमा निस्किएजस्तो भयो । सास फेर्न सजिलोजस्तो लाग्यो ।

द्वारनिर एउटा मान्छे उभिएको थियो । मैले त्यो बस्तीको नाम र बाटोको बारेमा सोधें । उसले उत्तर दियो ।

यति भनेर कृष्ण मुस्कुराए ।

कृष्णले भनिरहेको कुरा मैले ध्यानले सुनिरहेको थिएँ । मैले जोसमै सोधें कृष्णलाई, ‘त्यो मान्छेले के उत्तर दियो त ?‘

कृष्णले मुस्कुराउँदै भनें, ‘त्यो बस्तीको नाम ‘बर्बादीको बस्ती’ रहेछ । बाटोको नाम प्रेममार्ग ।’

म त ट्वाँ परें । कृष्णले जिस्क्याउँदै भनें, ‘तँलाई त जतासुकै कालो मात्रै देखियो होला हगि । हाँडीको पिँधजस्तो ।’

‘म त निस्किन्छु अब,’ कृष्ण यति भन्दै उठिहाले । पख्नुस्, काँक्रो खाएर जानुहोला (भनेको थिएँ) । उनी नसुनेजस्तो गरेर सरासर गए ।

परसम्म हेरें मैले उनी गएको । बाटोमा दुईवटा छाया एउटै गतिमा हिंडिरहेजस्तो देखियो, धेरै बेरसम्म ।

Logo