काठमाडौं,
वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले विकास अर्थशास्त्री तथा साहित्यकार चन्द्रप्रसाद भट्टराईको नवीनतम नियात्रा कृति नीला गोलार्द्ध शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका वीच सार्वजनिक गर्नुभयो ।
बेलायत, जर्मनी , अस्ट्रिया, अमेरिका, सिङ्गापुर, भारत र स्वदेश भ्रमणका एघारवटा यात्रा संस्मरणात्मक रचना समेटिएको उक्त पुस्तक नियात्राकार भट्टराईको तेस्रो नियात्रा कृति हो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्तै समालोचक राजेन्द्र पराजुलीले नीला गोलार्द्ध भित्र लेखक जहाँ जहाँ पुग्छन् त्यहाँ त्यहाँ पाठक पनि पुग्छन् भन्दै यसमा प्रयोग भएको भाषा, शैली र विषयवस्तुको संयोजनले चन्द्रप्रसाद भट्टराईको लेखनकलाको प्रशंसा गर्नुभयो । उहाँले यसअघि प्रकाशित भट्टराईका राम्रा नियात्रा सङ्ग्रह प्रशान्त छालहरूमा मेरो नेपाल र अनौठो मुलुक अनौठा अनुभूतिले झै पाठकहरूको मन यस कृतिले पनि राम्रोसँग छुने बताउनुभयो ।
अर्का समालोचक डा.गीता त्रिपाठीका अनुसार विषयवस्तुलाई अत्यन्त आकर्षक ढंगले व्यक्त गरिएको नीला गोलाद्र्धभित्रका एघारवटा मध्ये अधिकांश नियात्रा विदेश भ्रमणमा आधारित छन् दुईटा मात्र नेपालका बारेमा छन् , तर ती दुइटाले नै स्वदेशको यात्रालाई कसरी राम्रो साहित्य बनाउन सकिन्छ भन्ने गहकिलो सन्देश दिन समर्थ छन् । लेखकहरू विदेश भ्रमण गरेर फर्केपछि विदेशको यात्राबारे लेख्ने क्रम बढेको र अबका दिनमा स्वदेश चिनाउन यहीको भूगोल र जनजीवनलाई समेटेर नियात्रा लेखिनु पर्ने कुरामा यस कृतिभित्रका ती दुइटा रचनाले प्रेरित गर्ने विश्वास डा त्रिपाठीले व्यक्त गर्नुभयो । उहाँले विदेश भ्रमणसँग सम्बन्धित सबै रचनामा ज्ञानसँगसँगै मीठो साहित्य पाइने कुरा बताउनुभयो । बेलायतकी महारानी एलिजाबेथका पनाति राजकुमार जर्जको जन्मबारेको रचना नीला गोलार्द्ध नयाँ प्रयोगका रूपमा आएको र अत्यन्त रोचक र गहन रहेको धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
नियात्रा समाज नेपालको आयोजन र उत्कृष्ट प्रकाशनको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ नियात्राकारहरू श्री देविचन्द्र श्रेष्ठ, यादव खरेल, कवि श्री एस्पी कोइराला लगायत धेरै स्रष्टाहरूको उपस्थिति थियो । नियात्रा समाज नेपालका उपाध्यक्ष श्री प्रतीक ढकालले अध्यक्षता गर्नुभएको लोकार्पण कार्यक्रममा समाजका महासचिव मोहन चापागाई र कोषाध्यक्ष गीता रेग्मीले पनि कृतिका बारेमा बोल्नु भएको थियो ।































प्रतिक्रिया