क्याप्टेन बेद उप्रेतीको पुस्तक ‘सुदूरपश्चिम नेपाल’ लोकार्पण

क्याप्टेन बेद उप्रेतीको पुस्तक ‘सुदूरपश्चिम नेपाल’ लोकार्पण

केन्द्रबिन्दु
112
Shares

क्याप्टेन बेद उप्रेतीको पुस्तक ‘सुदूरपश्चिम नेपाल’ लोकार्पण भएको छ। शनिबार काठमाडाैंमा एक कार्यक्रमका बीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, पूर्वमन्त्री प्रेम आलेमगर, नैनसिंह महर, वरिष्ठ पत्रकार कुन्दन दीक्षितलगायत उपस्थित थिए ।

साे अवसरमा कांग्रेस सभापति देउवाले लेखक बेद उप्रेतीको फोटोग्राफीलाई तारिफ गरे । उनले घाेडाघाेडी ताललाई अझै राम्रो बनाउन सकिने बताए । लेखकसँग जोडिएको अनुभव पनि उनले सुनाए।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले लेखक क्याप्टेन बेद उप्रेतीकाे प्रशंसा गर्दै देशमा सुदुरपश्चिम जस्तो प्रदेशलाई अग्र स्थानमा ल्याउन उनी जस्तो मान्छेको खाँचो परेको बताए।

त्यस्तै, वरिष्ठ पत्रकार कुन्दन दीक्षितले याे पुस्तकले नेपाललाई चिनाउन निकै महत्वपूर्ण याेगदान गरेकाे दाबी गरे । उनले भने, ‘यो पुस्तकमा पर्यटकीय सम्भावनाका विषयलाई सम्बोधन गरिएको छ । यो पूस्तक सूदुरपश्चिमलाई चिनाउने मुख्य पाटो बन्नेछ।’

कार्यक्रममा पुस्तकका लेखक क्याप्टेन बेद उप्रेतीले यो पुस्तकमा सुदुरपश्चिमलाई अझै कसरी सबल अनि पर्यटकीय संभावना बनाउन सकिन्छ भनेर देखाउन खोजिएको बताए । उनले सुदुरपश्चिमका जिल्लाहरूमा कसरी अझै बिकास गर्न सकिन्छ भनेर काल्पनिक श-दिश्य देखाए ।

पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्नसकिन्छ भन्ने विश्वासलाई फोटोग्राफी विवरणका रूपमा प्रस्तुत गरिएको छ । सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोक/भूस्वर्गका रूपमा परिकल्पना गरिएका दृश्यहरू समावेश गरेर तयार पारिएको यस पुस्तकमा १२० पाना र ९४ रङ्गिन फोटोग्राफहरू छन् । नेपाली र अङ्ग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक यस क्षेत्रका अध्येता, अनुसन्धाता, पर्यटक, विद्यार्थी तथा योजनाकारलाई मात्रै नभएर राजनीतिज्ञ, उद्योगपति र सामाजिक कार्यकर्तालाई समेत उपयोगी हुने देखिन्छ ।

भौगोलिक स्थिति विकट भए पनि सुदूरपश्चिम आफैमा भव्य रहेकाे पुस्तकमा देखाइएकाे छ । यो नेपालकै प्रचूर सम्भावना बोकेको क्षेत्र हो। यहाँ अल्पकालीन र दीर्घकालीन उद्देश्य र ठोस योजना बनाई पर्यटन, रोजगारी र औद्योगिकीकरणको राम्रो विकास गर्नसकिन्छ भन्ने विषयलाई यस पुस्तकले उजागर गरेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका विकासका सम्भावनाका साथै सुन्दर तस्वीरहरूले भरिएको यस पुस्तकमा इच्छाशक्ति र योजनाका साथ अगाडि बढेमा विकास गर्न धेरै समय पर्खनु पर्दैन भन्ने विषय चित्रात्मक रूपमा वर्णन गरिएको छ ।

यो पुस्तक बिक्रीबाट प्राप्त हुने रकम वेद उप्रेती ट्रष्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सरका विरामीहरूलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए ।

Logo