जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

केन्द्रबिन्दु
168
Shares

लेखक जेबी दर्लामीको सशस्त्र द्वन्द्वकालको कथा–व्यथामा आधारित तेस्रो उपन्यास ‘मारी खोलाको ढुङ्गो’ लोकार्पण भएको छ ।

शनिबार काठमाडाैंमा एक कार्यक्रमका बीच लेखक दर्लामीले उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो । लेखक दर्लामीले बुटबलमा बसेर लेखेकाे उक्त उपन्यास पब्लिकेशन नेपालयबाट प्रकाशित गरिएको हो ।

लेखक दर्लामीको याे चौंथो पुस्तक हो । यसअघि दुईवटा उपन्यास र एउटा गैरआख्यान प्रकाशित भइसकेका छन्।

अर्घाखाँचीको विकट मानिने सिलिङ खोलामा जन्मिएका लेखक दर्लामीले पुस्तक लोकार्पण कार्यक्रममा आफू जन्मेको जिल्लाको जिवन भोगाई र अनुभवका बारेमा बताए । पिताको साथबिना बाल्यकाल वितेको सम्झेर लेखक दर्लामी कार्यक्रममै केही समय भावुक पनि बनेका थिए ।

पिताको साथ नरहेता पनि आफू पढाइमा भने सधैं उत्कृष्ट नै रहेको उनले बताए ।

बाल्यकालमा पुस्तक जलाएको सम्झँदै लेखक दर्लामीले एक दिन आफैंले पुस्तक लेख्छु भनेर आफ्नो आमालाई बताएको पनि उक्त कार्यक्रममा स्मरण गराएका थिए । आफूले यो पुस्तक लेख्ने प्रेरणा वि.सं २०६२ सालको अनुभवसँग जोडिएको बताए ।

माओवादी युद्धमा आफू सहभागी भए पनि आफूबाट कोही नमरेको लेखक दर्लामीले बताए । उनले आफू युद्धका लागि नभएर लेख्न पढ्नका लागि जन्मिएको महसुस गरेर उक्त समय युद्धबाट टाढिएको पनि बताए । यस्तै, २०५९ साल भदौं २३ गतेको घटनालाई नजिकबाट नियाल्ने मौका पाएका कारण यो पुस्तक लेख्ने प्रेरणा पाएको लेखक दर्लामीले बताए ।

कार्यक्रममा पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली समाजको सङ्घर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैह्रआख्यान दुवै विधाका पुस्तक प्रकाशनका क्रममा ‘मारीखोलाको ढुङ्गो’ जस्तो सुन्दर उपन्यासको जिम्मेवारी लिएको बताए ।

कूल एक सय ३४ पृष्ठको सो कृति पुस्तक विश्वभरका पाठकले अमेजनका माध्यमबाट पनि खरिद गर्न सक्नेछन् ।

Logo