ओशो महोत्सव सम्पन्न, १५ हजारको सहभागिता

ओशो महोत्सव सम्पन्न, १५ हजारको सहभागिता

केन्द्रबिन्दु
84
Shares

काठमाण्डौं । नयाँ वर्षको अवसरमा ओशो तपोवनले आयोजना गरेको ओशो महोत्सव २०८१ अभूतपूर्व रुपमा सम्पन्न भएको छ।

हरेक वर्ष नयाँ वर्षको प्रथम दिन वैशाख १ गतेलाई योग, ध्यान र उत्सवसँगसँगै ओशो महोत्सव मनाउने क्रममा यो वर्ष ओशो तपोवनमै महोत्सव सम्पन्न भएको हो।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, पूर्वमन्त्री एवम् सांसद ज्ञानेन्द्र बहादुर कार्की, बिरेन्द्र महतो, पूर्वमन्त्री रामेश्वर राय यादव, जनमत पार्टीका महामन्त्री चन्दन सिंहलगायत विभिन्न दलका नेताहरुको उपस्थितिमा भएको महोत्सवमा देशका प्रतिष्ठित कलाकारहरुले प्रत्यक्ष प्रस्तुति गरेको थिए।

करिब १५ हजारभन्दा बढी व्यक्तिहरुले व्यक्तिले महोत्सवमा भाग लिएको ओशो तपोवनले जनाएको छ।

उपराष्ट्रपति यादवले कार्यक्रममा सम्बोधन गर्दै गरिबी, सामाजिक विकृति, एक्लोपन, मद्यपान, लागूऔषधको प्रयोग, आत्महत्या जस्ता नकारात्मक कुराहरुले अहिले समाज ग्रसित भएको र यसबाट मुक्त पाउन योग ध्यानको ठूलो भूमिका रहेको कुरा बताए। ओशो तपोवन जस्तो अन्तराष्टिय आश्रमले यो कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै तपोवनको प्रशंसा गरेका थिए।

महोत्सव स्वामी आनन्द अरुणको बहुप्रतिक्षित पुस्तक सन्तहरु र उनका रहस्यलोकको विमोचन पनि गरिएको थियो।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव वैकुण्ठ अर्याल, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वमन्त्री विरेन्द्र महतोले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकाससँगै देशमा आध्यात्मिक जागरणको प्रयास पनि अत्यन्तै महत्वपूर्ण भएको कुरा बताए। ओशोलाई बुद्धपछिका आध्यात्मिक क्रान्तिदृष्टा भएको बताए।

महोत्सवमा दुई चरणमा सांगितिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। पहिलो चरण दिउँसोका समयमा नेपालका चर्चित गायक, गायिकाहरु नागेन्द्र राई, अनिता चलाउने, रोशन पुटुवार, रोमा न्यौपाने, रोशन शर्मा, प्रभुराज ढकाल, जगन्नाथ जेडी, सविन चौहानलगायतले आफ्नो प्रस्तुति दिएका थिए भने दोस्रो चरण साँझ उत्सवमा गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, हास्य कलाकार मनोज गजुरेललगायत अन्य कलाकारको प्रस्तुति दिएका थिए।

महोत्सवलाई विशेष आर्शिवचन दिँदै स्वामी आनन्द अरुणले हाम्रो पूर्विय संस्कृतिले विकाश गरेको विज्ञान योग र ध्यानले आज विश्व अनेक मानसिक समस्याहरुलाई निराकरण गर्न सकिने बताए। उनले नेपाललाई ध्यानको राजधानी बनाउन सरकारले ध्यान दिवसको घोषणा गर्न आग्रह गरे। साथै, अष्टवक्र संहितालाई राष्ट्रिय पुस्तक घोषणा गर्न ढिलाई गर्न नहुने पनि बताए।

महोत्सवमा कार्यक्रमका मुख्य संयोजक भवन भट्टले शुभकामना मन्तव्य राखेका थिए। महोत्सवको संयोजक आनन्द अर्हत, सोविता सिम्खडा तथा निराजन भण्डारी रहेका थिए।

महोत्सवको आर्कषण रहेको स्ट्रीट फेस्टिवलमा रहेका १५ भन्दाबढी स्टलहरुमा सहभागीहरुले विभिन्न परिकारको स्वाद लिएका थिए।

महोत्सवमा राखिएको पुस्तक प्रदर्शनीमा ओशो साहित्य प्रदर्शनी पनि गरिएको थियो।

Logo