काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ प्रकाशित भएको छ ।
मैथिली भाषामा प्रकाशित भएको यस कृतिमा मुख्यतयाः नेपालको मैथिलीभाषी समाजमा किंवदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू संकलन गरी प्रस्तुत गरिएको छ । मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देव–देवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी छ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक संकलित छन् ।
यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको सन्दर्भलाई अपवाद मान्ने हो भने नेपाली र मैथिली भाषामा मिथकबारे खासै काम हुन सकेको छैन । यस्तोमा सायद यो पुस्तक यस विषयमा नेपालमै पहिलो भएको दाबी गरिएको छ ।
लेखक झा भन्छन्, ‘नेपालको मैथिलीभाषी समाजमा किम्बदन्ती र विश्वासका रुपमा जीवित त्यस्ता मान्यता छन्, जो इतिहासको रुपमा प्रमाणित हुन सकेका छैनन् । तिनलाई संकलन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएको छ । मिथिला क्षेत्रमा विश्वासका रुपमा यस्ता थुप्रै सन्दर्भ छन्, जसको खोजी र अध्ययन हुनु जरुरी छ ।’
मैथिली र नेपालीमा कलम चलाउने साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् । उनका पहिला पनि नेपाली र मैथिली भाषामा एक दर्जनको हाराहारीमा साहित्यिक कृति प्रकाशित छन् । उनले केही महिनाअघि मात्रै शहरक भीडमे एसगर हम नामक प्रयोगवादी मैथिली कवितासंग्रह पाठकमाझ पस्केका थिए ।































प्रतिक्रिया