आश्मा र अरु कथाहरु

आश्मा र अरु कथाहरु

केन्द्रबिन्दु
51
Shares

-योगेन्द्र तिमिल्सिना

काठमाडाैं । बिसको दशकदेखि मैले कथा लेख्न थालेको हो । ‘अपरिचित प्रेमिका र अल्पायु मृत्यु’ शीर्षक मेरो पहिलो कथा काठमाडौंबाट प्रकाशित हुने ‘बिहान’ मासिकमा २०२४ सालमा प्रकाशित भएको थियो । मेरा कथाहरु विभिन्न कारणले समाजमा पछि परेका, पारिवारिक समस्यामा अल्झिएका अथवा समाजका विपन्न पात्रहरुको मनोविज्ञानलाई लिएर प्रायः लेखिएका हुन्छन् ।

कथासङ्ग्रह ‘आश्मा र अरु कथाहरु’मा २०७५ सालपछि लेखिएका कुल १३ कथाहरु संकलित छन् । यी सबै पत्रपत्रिकामा प्रकाशित हुन् । प्रकाशन गर्ने मिडिया र पत्रिकाको नाम प्रत्येक कथाको अन्त्यमा दिइएको छ ।

यी कथाहरुमा नारीजन्य पारिवारिक पीडा, आफ्नै असावधानीको कारण्ले धूर्तबाट हुने ठगी, कोमल भावनाबाट बनेको युवतीको स्वप्निल संसार, गरीबि र अभावका बिचमा पनि हुनसक्ने पारिवारिक खुसी, विद्युतीय माध्यमको प्रयोगबाट बाल मनोविज्ञानमा पर्ने गम्भीर असर, ज्येष्ठ नागरिकको पारिवारिक असन्तुलन र अन्योल, सम्मानका नाउँमा हुने अनुत्तरदायी कार्यक्रमप्रतिको ब्यङ्ग्य, पति–पत्नीका बीचमा हुने अस्थायी द्वन्द्व, परिवर्तित समाजमा बढ्दै गएको विचलन र विकृतिको प्रतिबिम्ब, बाँदर स्वभावसँग मिल्दो मानविय सम्झौतप्रतिको ब्यङ्ग्य, अन्धो प्रेम र त्यसबाट उत्पन्न हुने विचलन, जीविकाको निम्ति विदेशिनु पर्ने बाध्यता र त्यसबाट उत्पन्न हुने गम्भीर परिणाम जस्ता विषयवस्तु समेटिएको छ ।

यस सङ्ग्रहको अन्तिम कथा हो ‘अन्तिम सत्य’ । यो कथा मधुपर्क मासिकमा प्रकाशित छ । यस कथामा जीवनभर मानिस व्यक्तिगत स्वार्थ र द्वन्द्वमा अल्मलिएता पनि मृत्यु जीवनको अन्तिम सत्य हो भन्ने आत्मालाप सहित चिन्तन गरिएको छ ।

अनन्त इच्छाका गीतहरु

कविताको क्षेत्रमा कविता सङ्ग्रह ‘अनन्त इच्छाका गीतहरु’ मेरो जीवनभरको कमाइ हो । यो मेरो पहिलो र अन्तिम कविता सङ्ग्रह हो । पत्रपत्रिका र अनलाइन मिडियामा प्रकाशित प्रायः सबै कविताहरु यसमा परेका छन् । ‘नयाँ वर्ष’ मातृभूमिमा, ‘परिवेशभित्रको शहर’ प्रज्ञामा र ‘अनन्त इच्छाका गीतहरु’ धरानबाट निस्केको सङ्कलन ‘धरानका केही कविता’ मा प्रकाशित भएको सम्झना छ अरु सबै प्रकाशित भएता पनि अभिलेख राखिएको छैन ।

मैले केही कविताहरु अङ्ग्रेजीबाट अनुवाद पनि गरेको छु । वाल्ट विट्मन, बोरिस पास्तरनाक र होचि मिन्हका केही कविता पनि अनुवाद गरेको छु । ती अनुवादहरु रुपरेखा र धरानबाट प्रकाशित हुने कल्पना पत्रिकामा प्रकाशित छन् । ती पनि यसमा पार्न सकिएन ।

Skip This
Skip This
Logo