नेपाली तथा अंग्रेजी शब्दकोश हामीले देखे सुनेकै र पढेकै कुरा हुन् । तर यस पटक गणित शब्दकोश पनि सार्वजनिक भएको छ । शब्दकोशको इतिहासमा यो नयाँ प्रयोग हो । यो कोशका सम्पादक महेश्वरप्रसाद उपाध्याय हुनुहुन्छ । उहाँ गणितकै प्राध्यापक । उहाँको साहित्य क्षेत्रमा इस्माली उपनाम सर्वव्यापक छ । नेपाली कथा, नियात्रा, बाल साहित्य क्षेत्रमा स्थापित प्रतिभा हुनुहुन्छ । महेश्वरको नामबाट उहाँका गणितका पाठ्यपुस्तक र अन्य गरी दर्जन जति पुस्तकहरू प्रकाशित छन् । यस कोशको भाषा सम्पादन विनयकुमार शर्माले गर्नुभएको छ ।
नेपाली शब्दभण्डारमा कोश परम्परामा गणितको शब्दकोश एउटा नयाँ पक्ष र ज्ञानको क्षितिज बनेर आएको छ । यो प्राविधिक पक्ष हो । शब्दकोश आफैमा प्राविधिक विधा र गणित झन् प्राविधिक विधा । केही विदेशी भाषामा गणित शब्दकोश आएका भए पनि नेपालीमा अभाव थियो । तिनमा गणितका फर्मूला (सूत्र)हरू मात्र भएको पाइन्थ्यो । नेपाली भाषामा प्रकाशित यो नै पहिलो गणितको शब्दकोश हो । यो पहिलो भएर पनि मानक बनेर आएको छ ।
यहाँ हजारौँ शब्दले प्रविष्टि पाएका छन् । गणित र विज्ञान परस्पर जोडिएका हुन्छन् । विज्ञानविना गणितको कल्पना समेत गर्न सकिन्न । यसमा गणितका सूत्रका साथसाथै लगभग तीनहजार वर्ष अघि देखिका पूर्वीय र पश्चिमी गणितज्ञहरूको जीवनी र तस्वीर समेत यथास्थानमा राखिएको छ । यस कारण यसले विज्ञान, इतिहासको साथै गणितज्ञ र विश्व वैज्ञानिकहरूको परिचय समेत दिएको छ र आफूलाई शब्दकोशबाट उठाएर ज्ञानकोशका तहमा प्रस्तुत गरेको छ ।
दश वर्ष मिहेनत गरेर महेश्वरप्रसाद उपाध्यायले तयार पार्नु भएको यस कोशको भाषा सम्पादन, कम्प्युटर सेटिङ आदि काम विनयकुमार शर्मा नेपालबाट भएको छ । उहाँहरू दुवैको यो योगदानको समयक्रममा नेपाली समाजले मूल्यांकन गर्ने नै छ । यो नेपालको विज्ञान, गणित, इतिहासको साथै नेपाली वाङ्मय र शब्दकोश क्षेत्रमा लाग्ने सबै शिक्षक र विद्यार्थीको लागि उपयोगी मात्र नभइ महत्वपूर्ण पनि हुनेछ । नेपाली शब्दकोश परम्परामा नयाँ कोशेढुङ्गा सावित हुनेछ । गणितका अधिकाङ्श शब्द फर्मूला र गणितज्ञको जीवनी र फोटो सहित आउनु यसको मूल सामथ्र्य हो ।
मानवअधिकार शब्दकोश
मानव अधिकार शब्दकोश माधव रेग्मी र कैलाशकुमार सिवाकोटीको संयुक्त कोश हो । यो कोशका कोशकारहरू सम्बन्धित विषय क्षेत्रकै विषयविज्ञ हुनुहुन्छ ।
यो शब्दकोश मानवअधिकारसँग सम्बन्धित छ । यो एक किसिमले अड्ग्रेजी टू नेपाली शब्दकोशका रूपमा आएको छ । शब्दकोश भन्नाले शब्द र अर्थ वा पर्यायवाची कोशलाई बुझिन्छ तर यो शब्दकोश मात्र नभई ज्ञानकोशका रूपमा तयार पािरएको छ । यहाँ पहिला अंग्रेजीमा र त्यसपछि नेपालीमा मानवअधिकारसँग सम्बन्धित शब्दहरूको परिचय दिइएको छ । परिचय, पारिभाषिकीरण र उदाहरणले कोशलाई ज्ञानकोश बनाउँछ । उहाँहरूले त्यस्तै प्रयत्न गर्नुभएको छ । यस कोशमा मानव अधिकार, सामाजिक न्याय, कानुनी सामाजिक विज्ञान, चिकित्सा र कतिपय प्राविधिक क्षेत्र र ती क्षेत्रसँग सम्बन्धित पारिभाषिक र प्राविधिक शब्दहरूलाई समेटेको देखियो ।
मानवअधिकारको विकास द्वितीय विश्वयुद्धका क्षतिबाट हुँदै आज सम्ममा विश्वव्यापी बनेको छ । यो कोश कानुनका विद्यार्थीलाई मात्र नभई नेपाली अंग्रेजी भाषाका र समाजशास्त्रका विद्यार्थीका लागि पनि उपयोगी बनेको छ । अब हरेक पालिकाका उपमेयरले पनि पढ्नुपर्ने सामग्री बनेर आएको छ । उनीहरू त्यहाँका न्यायिक समितिका संयोजक हुन् । रेग्मी र शिवाकोटी दुवैलाई यस पुस्तकले उचाईमा मात्र पुर्याउँदैन नेपाली साहित्यमा ऐतिहासिक दस्तावेजको रुपमा पनि आफूलाई परिभाषित गर्ने पक्का छ । यी दुवै शब्दकोशलाई शब्दार्थ प्रकाशनले प्रकाशित गरेको छ ।





























प्रतिक्रिया