कविता – कोसेली

कविता – कोसेली

केन्द्रबिन्दु
33
Shares

कोसेली लिएर आऊ भन्छौ भने
मुस्कुराइरहने
धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे,लगायतका हिमशृङ्खलाको मुग्ध मुस्कान
मृगसिराहरुको मारुनी
डाँफे र मुनालहरुको
सोरेठीसँगै
हम्पाल सिर्पु जलजलाका
नौथरी
लालिगुराँसको वसन्त
लिमिठानाका पखेराहरुमा
फूल्ने कोइराला र टाँकीहरुको
माधुर्य पवन
पन्चासेको सिर्सिरे हावा
भोर्लेका लेकतिर पैयुकोटमा फूल्ने पैयुँहरुमा बस्ने माहुरीहरुको गुनगुनाहट
बेउलीबासको पालुस्थान काखैमा मेरै काखैमा बेसेर खेल्ने
पिङ्गको आनन्द लिएर आउँला।

लमाय,चिर्दी,मल्याङ्दी,लुवा,सेती,पाती,रतीखोलाका
दुवाली र ढडियाहरुमा
माछा परेझैं
पर्छौकी प्रेमको
पासोमा
फेरी
पानी बिनाको माछीझैं छट्पटायाैं भने
बिडम्वना एउटा मदन एकाबिहानै मुग्लान निस्कँदा
कता कता पीरले नि पिरोल्छ।
भलै केही छैन
आत्तिनु पर्दैन
पर्वतको पानी खाएकाहरु धोकेवाज कहिल्यै हुँदैनन् ।

तिमिले कोसेली ल्याउनु भन्छौं भने
जलिरहेको मन लाई शितलता दिने महाशिलाको चिसो पानीको
घैला
बिहादीका सम्मा गराहरुमा फल्ने
नगदेबालीका झुलेसी
मोदीको उर्जा जस्तै
बैँस र जवानी
कुस्माका अग्ला र लामा पुलजस्तै
सम्बन्ध बनाउँछौ भने
बडागाउँको सल्लेरीमा
गाउँले निश्चल मनको
चोखो प्रेम
तिम्रै हातमा थमाइदिउँला।

तिमी खान्छौ भने कोसेली
भगराको दमौरा,
होर्स्याङ्दीको हाडेकाफल,लिमिठानाको दही चाम्ले र
गोलकाक्री
अन्जुलीभरी भराइदिउँला
कुटिल्कोसाको बाजा बजाउदै
सालपाते सोलीमा
पहेँलपुर
ऎसेलु र चुत्रोहरु
लत्रक्क पाकेका तिजुहरुले
भरीदिउँला तिम्रो खोकिलो।

काली उखु जस्तै मान्छौ भने कोसेली
आँटिघरको सेरोफेरोका
बयरडाँडाको बोसे बयर
पानीओटको अमिलो भोगटे
माजिमको बर्रो र काठे अमला
गुलियो निउवा
काला बेडुला र राता खनिमहरु।

अझै रहर नमरे तिमिलाई कोसेलीको
भुभुकेको लौसी र जिमिरो
बाँझाखेतको चुके आँप
कैँडालेको लिची
गैरीखेत मुसुरुम्टीको डुम्री
र टिमिलो
साथैमा पोको पारेर
पानी अमलाको अचार
सँगै
मसक्क पिसेको नून जिरे खुर्सानी

सालिजाको टिमुरको धूलो।

सुलिकोट बाट देखिने
पुर्णिामाको
जून सङ्ग उज्यालो पैँचो मागेर
प्रकाश र शीतको सितलता
तिम्रै पोल्टामा राखिदिउँला
जस्ले
जून जस्तै उज्यालो त्यो मुहारमा
हर्षको कान्ति छरोस्।

मनको बागमा सुवास छर्दै मुस्कुराइरहेका
प्रेमिल गुलावहरुले
तिम्रै ओठमा लाली पोतिदिउँला
सुसाइरहेकी कालिगण्डकीको
सामिप्य सत्तलको बिसौनीमा
बसेर
लहरे बर जस्तै तिम्रो केशराशीमा
यी हातहरुले
सिउरीदिउला रानीफूल
चम्पा,बेली र चमेलीहरु।

तिमि कोसेली चाहन्छौ भने
डहरे देउराली सङ्गै
सेतीबेनी शिला
बज्रमारा कालिका
चाउका देवीथान
बाटुलेचौर भगवती
ज्यामिरे माता
सातमुले बराह
डानसिङ्ग भैरव
गुप्तेश्वर महादेव
अल्पेश्वोर भोलेनाथ
दुर्लुङ्ग्कोट, सुलिकोट, पैयुकोट ,ठानामौला भुमे र धाइरिङ भुमे
शिवालय
लगायतका सवै सवै देवालयको कसम बोकेर ल्याइदिउँला

नदीको यात्रा जस्तै
गरौंला एक किस्सा जिन्दगीको
तिमी अनि म
खोलीहरुले नदी भेट्टाए जस्तै एक अर्काले
प्रेमको दोभान।

अक्षर बन्न नसकिरहेको

शब्द बनेर कसोरी आउँ
तिम्रो जिन्दगीमा ?
बरु आउन सक्छु एउटा बिम्ब बनेर
तिम्रै कल्पनाको
दुनियाँमा
तिमिले आउ नै भन्छौ भने
कहिल्यै नमेटिने
कहिल्यै भुल्न नसकिने
काव्यांशहरुमा।

✍️निर्मल पौडेल ‘एन पी घायल’,फलेवास ७ पर्वत।

Skip This
Skip This
Logo