म आलु । मेरो बसाई कालुको कान्लादेखि ठालुको चुलोसम्म । हामी विभिन्न रुप, रंग, स्वाद र नामले बजारमा सर्वत्र छाएका छौ । हाम्रो पहँुच सडकदेखि सदनसम्म छ । "/>

ब्यंग्य : आलुको आन्दोलन !

ब्यंग्य : आलुको आन्दोलन !

केन्द्रबिन्दु
0
Shares

म आलु । मेरो बसाई कालुको कान्लादेखि ठालुको चुलोसम्म । हामी विभिन्न रुप, रंग, स्वाद र नामले बजारमा सर्वत्र छाएका छौ । हाम्रो पहँुच सडकदेखि सदनसम्म छ । सडकको नाङलो पसलमा आलु चिप्स, लेजहरु हुन्छन् । चटपटे र पानीपुरीमा आलु नभई हुँदैन । किराना पसलदेखि सुपरमार्केटसम्म आलुका भेराइटीले सजिएका हुन्छन् । लोकल भट्टीदेखि बारहरुमा समेत रसपान गर्न आलुका विभिन्न परिकारहरु हुन्छन् । होटलहरुलाई त झन आलु नभई हुँदैन ।

आलु चिप्स, लेज, आलु दम, आलु पराठा, आलुपालु, आलु फ्राइ, फ्रेन्च फ्राई, पोट्याटो बिस्कुट, आलु चप, आलु टिकी, आलु सुकुटी, आलु चाट, आलु सुप, समोसा, आलु अचार, आलुतामा, आलु तरकारी, आलु चिल्ली, आलु सलाद, चटपटे, पानीपुरी, आलु करी, अण्डाकरी, आलु मस्यौरा, आलु भुजुरी आदि इत्यादि । यी त नेपालमा बनाईने परिकार मात्रै हुन् । खानेकुरामा मात्रै होइन रमाईलोका लागि पनि ‘आलु आलु’ भन्ने गीत बनेका छन् । ‘आलु कचालु’ भन्ने कार्टुन नै छ । अमेरिकामा ‘आलु एसोसिएसन’ भन्ने संस्था नै छ । बिश्व बजारमा हाम्रो यतिधेरै प्रयोग र डिमाण्ड हुँदाहुँदै पनि हाम्रो मान, प्रतिष्ठा र पहिचानमा चरम अत्याचार भईरहेको छ ।

यतिधेरै परिकार खाएर पनि मान्छेहरु हामीलाई अपमान गर्छन । हामी मान्छेबाट सबैभन्दा पीडित तरकारी हौ । त्यसैले आज म तालुवाला पिँडालुहरुलाई आलुको भ्यालु बुझाउदै छु । हामीलाई बिउका लागि भनेर महिनौसम्म ठण्डी बनाएर राख्छन् । मलाई रोप्दा समेत टुसा हेरिहेरि टुक्रा पारी पारी रोप्छन् । रोप्न पनि भिरपाखा र पानी समेत खान नपाईने ठाउँमा रोप्छन् । रोपेर माटोले ड्याम्म पुरिदिन्छन् । कहिलेकाही त सास फेर्न नपाएर मर्छु जस्तो हुन्छ ।

जब म अलि हर्लक्क बढ्न थाल्छु । आकाशबाट परेको पानी रमाईरमाई पिईरहेको हुन्छु अनि मान्छे आउछन् । मलाई खोतलखातल पारेर बोरामा टम्म बाँडेर लैजान्छन् । हामीलाई भएभरको बल लगाएर बोरामा कोच्याएर अटसमटस हुने गरी डोरीले बाध्छन् । कहिलेकाँही त मेरो आन्द्राभूडी नै निस्कन्छ । यसरी बोरामा हालेर कोही मलाई बजारमा बेचिदिन्छन् । कोही घरमा लगेर थन्काउछन् त कोही कोल्डस्टोरमा लगेर ठण्डीमा हुत्याई दिन्छन् ।

कोल्डस्टोरमा लगेकाहरु त चिसो सहेर भए पनि बाच्छन् तर घरको कुनामा थन्काइएकाहरु त गुम्सिएरै मर्छन । यसरी हामीलाई गुम्साएर मार्छन अनि ‘कुहिएको आलु’ भनेर हामीलाई नै गाली गर्छन् । आफैले मार्ने अनि म¥यो भन्ने कस्तो अबुझ जाति रहेछ मान्छेहरु । अझ उनीहरु अरु मान्छेलाई गाली गर्नुप¥यो भने ‘आलु जस्तो’ भनेर हाम्रै अपमान गर्छन् । कसैलाई हेपेर बोल्नुप¥यो भने ‘आलु खाइस’ भन्छन् । कसैलाई खिसिट्युरी गर्नुप¥यो भने ‘आलु खाएर पेडाको धाक’ भन्छन् । मन नपरेको मान्छेलाई उनीहरु ‘आलु पाँडे’ भन्छन् । नेपाल कालु पाँडेहरुले जोगाएको देश हो त्यसैले आलुपाँडे होईन कालुपाँडे भनौ ।

हामीलाई पेडासँग तुलना गर्नै मिल्दैन । पेडाको पहिचान के हो ? पिठो होईन ? पिठोमा चिनी हाल्दैमा पेँडा कसरी महान भयो ? आलुको स्वाद मिठो हुन्छ कि पिठोको ? त्यसैले आलुमा केही नहाल्दा पनि गुलियो हुन्छ भन्ने कुरा बिर्सिनु भएन महाशय ! कोही मान्छे परीक्षामा फेल भयो भने ‘आलु खायो’ भन्छन् । अरे यार फेल हुनेले मात्रै खाने हो र आलु ? फेल हुनेले मात्रै आलु खाने हो भने त विद्धानहरुका घरमा हामीलाई किन लगेको ? पूजा गर्न ? कि भान्छा सजाउन ? कि भगवानलाई प्रसाद चढाउन । कहाँबाट भगवानलाई चढाउनु आप्mनै मुखमा चढाउछन् मान्छे । आफै दिनदिनै आलु खान्छन् अनि फेल हुनेलाई चै लाजै नमानी ‘आलु खायौ’ भनेर हेप्छन् । कस्तो अबुझ जात यो मान्छे ।

हामीलाई किन यसरी हेपेर बोल्छन् मान्छेहरु । मान्छेले यो संसारमा हाम्रो महत्व नबुझेका कि बुझ पचाएका ? मान्छेको भोक लाग्ने बित्तिकै हामी नै पेटमा गएर भोक मेटाई दिनुपर्ने । अनि फेरि हामीलाई नै सत्तोसराप । अन्नलाई सराप्न हुन्न भन्ने अलिकति पनि ज्ञान छैन ? आफ्नो जिब्रोको स्वाद मेट्न अनेकन मिसाएर पकाउछन् । जे मिसाउछन त्यसैमा फिट भईदिन्छु तै पनि हामीलाई नै देखि सहदैन । के हामी सोझो भनेर हेपेका ?

हामीलाई लगेर कोही मेशिनमा पेल्छन । कोही चक्कुले काट्छन् । कोही जिउँदै कुकरमा राखेर बकबकी उमाल्छन् । कोही जिउँदै आगोमा पोल्छन । कोही पटपटी भुट्ने रे भनेर ओल्टाईपल्टाई भुट्छन् । कोही सुकुटी बनाउने भनेर डढाउछन् । कोही आलुपालु बनाउने भन्दै खुसार्नी हालेर मुच्छन् । कोही आलु चिप्स भन्दै नुन हालेर नुनिलो पार्छन । अनि हावा भरेर प्याकेटमा हुल्छन् । कोही फेरि समोसा बनाउने भनेर मुछमाछ पारेर आलुको नामोनिशान मेटिने गरी पिठो जस्तै बनाउछन् । बनाउने चै आलुबाट अनि नाम चै समोसा रे । हाम्रो पहिचान खै ? आलु तरकारी, आलु चिप्स, आलुतामा भनेजस्तै ‘आलुसमोसा’ नामाकरण गर्नुप¥यो सरकार ।

अहिले त झन मान्छेहरु हामीलाई अनेकन तरिकाले बिजनेश गर्न थालेका छन् । अनेक आकार निकालेर अनेक मसला मिसाएर हामीलाई अनेकन नाम दिएर बजारमा पठाउछन् । जुशदेखि बिस्कुटसम्म बनाउन थालेका छन् । मान्छेले आलु नखाएको दिन हुँदैन । आलुबिनाको सहर हुँदैन, तर पनि हाम्रो किन भाउ हुँदैन ?

कोही सिंगै खान्छन्, कोही मिसाएर खान्छन् । जुनसुकै तरकारीमा पनि हामीलाई नै मिसाई दिन्छन् । तर हामी धोकेबाज होईनौ त्यसैले मिलिदिन्छौ । मान्छेको मुख मिठ्याउन हामीलाई ओल्टाईपल्टाई, मुछमाछ, पेलपाल, ठेल्ठाल गर्दा हामीलाई कति दुख्छ, कति पोल्छ, कति सास्ती हुन्छ ? हाम्रो भएभरको कपडा उतारेर नांगेझार पार्दा लाज मान्नु पर्दैन ? मान्छेका लागि हामी मर्न पनि तयार हुने तै पनि हाम्रो अलिकति पनि इज्जत नराख्ने ? कति हेपाहा, कति निर्दयी, कति स्वार्थी ? हामी पशुपँक्षीको पनि भोक मेटाईदिन्छौ तर खै उनीहरुले कहिले त्यसरी अपमान गरेको सुनेको छैन । हामीलाई त लाग्छ मान्छेभन्दा पशुपँक्षी नै सही । कम्सेकम अन्नको सम्मान त गर्छ ।

हामीलाई खानका लागि मात्रै होईन मान्छेहरु आफ्नो अंग प्रत्यंगमा प्रयोग गर्छन । कपाल चम्काउनदेखि जुत्ता चम्काउनसम्म, झ्याल ढोकाको सिसा चम्काउनदेखि गगल्स चम्काउनसम्म खिया लागेको भाडा चम्काउनदेखि छालाको जुत्ता चम्काउनसम्म, हातको रङ हटाउनदेखि सुपमा नुन ठिक पार्नसम्म हामीलाई नै प्रयोग गर्छन् । हामी जिउँदा मात्रै होईन मृत्युपर्यन्त पनि मान्छेका लागि अमूल्य छौ । मान्छेहरु कुहिएको आलु भनेर हामीलाई हेप्नुसम्म हेप्छन् । तर त्यही कुहिएको आलुमा कत्रो शक्ति लुकेको हुन्छ । कुहिएको आलु संसारकै सर्वोत्कृष्ट मल हो महाशय । हामी मरेपछि त्यसलाई गमला अथवा खेतवारीमा राखिदिनु । हामीले अरु बोटबिरुवालाई हुर्काईदिन्छौ । बाचुन्जेल मान्छेलाई हुर्काउने र मरेपछि बिरुवालाई हुर्काउने हाम्रो जन्मजात मान्यता नै हो ।

के तिमीहरु मान्छे हामी जति सर्वगुण सम्पन्न छौ ? हामीलाई मुलामा मिसाए पनि हुन्छ, सागमा मिसाए पनि हुन्छ । काउलीमा मिसाए पनि मिलिदिन्छौ, बन्डामा मिसाए पनि मिल्छौ । लौकादेखि घिरौलासम्म, काउलीदेखि बन्दासम्म, मुलादेखि सागसम्म, भ्यान्टादेखि भिंडीसम्म, स्कुसदेखि बरेलासम्म, लौकादेखि परवलसम्म, गुन्द्रुकदेखि सिन्केसम्म हाम्रो अत्यन्त घनिष्ठ सम्बन्ध छ । तरकारीसँग मात्रै मिल्ने त हो नि भन्ला हामी त अण्डा, मासुदेखि चिजसँग समेत अन्योन्याश्रित सम्बन्ध राख्छौ । तर मान्छेहरु न मान्छेसँग मिल्छन् न त पशुपँक्षी र तरकारीसँग नै ।

मान्छेहरु न स्वलिंगीसँग मिल्न सक्छन न त विपरित लिँगीसँग नै । पुरुषका शत्रु पुरुष नै, महिलाका शत्रु महिला नै । हेर त कन्तविजोग ! बिपरित लिंगीसँगको सम्बन्ध देखेर त लाजै लाग्छ, घिनै लाग्छ । हामीलाई एउटा कुनामा थुपारेर हाम्रै आँखा अगाडि के के गर्छन÷गर्छन् । मान्छेलाई भन्दा आलुलाई लाज !

लाजको कुरा त भनिसाध्य छैन । विपरित लिंगी देख्यो कि घुरीघुरी हेर्नुपर्ने, भाउ खोज्नुपर्ने, कुट्नुपर्ने, काट्नुपर्ने, मार्नुपर्ने । हरे ! कस्तो जात हो यो मान्छे ? बरु हामी मर्न तयार हुन्छौ तर जोसँग पनि मज्जाले मिल्छौ तर मान्छेहरु मिल्न त मिल्छन्् तर अनैतिक, अवैध र स्वार्थी तरिकाले । जब स्वार्थ चेट हुन्छ अनि सम्बन्ध पनि चेट ।

मान्छेहरु आप्mनो मान सम्मान र प्रतिष्ठाका लागि मर्न र मार्न तयार हुन्छन् तर हामी बरु मर्न तयार छौ तर हामीलाई अपमान नगरियोस् । मान्छेले हाम्रो अपमान गर्नुअघि आप्mनो हैसियतको ख्याल गर्नु । एउटा पनि राम्रो गुण नभएका मान्छेहरुले हामी सर्वगुण सम्पन्नको नाम जोडेर टिप्पणी गरेको सुहाएन । मान्छेहरु त आलु होईन कोक्याउने पिँडालुभन्दा पनि खत्तम छन् । आलुको ठाँउमा पुग्न त हिमालमा अरु हजारौ बर्ष तपस्या गर्नुपर्छ महोदय । अब आइन्दा ‘आलु जस्तो’, ‘आलु खाएर पेडाको धाक’, ‘आलु खाइस’, ‘आलु पाँडे’ भनेर टिप्पणी नगरियोस् ।

मरेको आलुको समेत कत्रो तागत हुन्छ भन्ने त बुभ्mयौ होला नि ? त्यसैले अबदेखि आलुलाई सके मायालु ठानौ नसके दयालु ठानौ तर भालु नठानौ । अझै पनि हामीलाई हेप्ने नै हो भने हामीलाई स्वतन्त्र छोडिदिनु, हुर्किन दिनु, बढ्न दिनु, तन्नेरीमै उखालेर आप्mनो पेट पूजा नगर्नु । अनि जे भन्न मन लाग्यो भन्नु । यदि हामीलाई खाने हो भने हाम्रो सम्मान गर्नुप¥यो । आलु शब्दलाई खिसिट्युरीले होईन गर्वका साथ प्रयोग गर्नुप¥योे भन्ने हाम्रो जोडदार माग छ ।

हाम्रो माग पूरा नभएको खण्डमा भान्छा भान्छाबाट उठ्छौ, बोराबोराबाट उठछौ । खेतबारीबाट उठ्छौ । कोल्डस्टोरको गोदाम गोदामबाट उठ्छौ । ठेकेदारका गोदामदेखि तरकारी बजारसम्मका सबै आलु एकजुट हुन्छौ । हामीसँग मिल्ने सबै मिलेर ‘तरकारी गठबन्धन’बनाई संघर्ष समिति गठन गर्छौ । तरकारीको बिउदेखि परिकारसम्मलाई आन्दोलनको मोर्चामा सामेल गर्छाै । तै पनि हाम्रो मागको वेवास्ता गरियो भने हामी ‘तरकारी युद्ध’ लड्न तयार हुन्छौ ।

आलु आलु एक हौ– एक हौ, एक हौ ।
तरकारी गठबन्धन जिन्दाबाद– जिन्दाबाद, जिन्दाबाद ।

[email protected]

Logo