रङ्ग विभीषिकाहरू सकेर होइन, पोखेर आफ्नै अल्पज्ञान ओछ्यानमा पल्टेँ । मनमा लाग्न थाल्यो ! रङ्गका पनि अवतार हुँदा रै’छन् । "/>

निबन्ध: रंग अवतार

निबन्ध: रंग अवतार

केन्द्रबिन्दु
0
Shares

रङ्ग विभीषिकाहरू सकेर होइन, पोखेर आफ्नै अल्पज्ञान ओछ्यानमा पल्टेँ । मनमा लाग्न थाल्यो ! रङ्गका पनि अवतार हुँदा रै’छन् । रङ्गका अवतार कस्ता हुँदा हुन् ? प्रश्न आफैमाथि खनियो । उत्ति नै खेर नृतत्वशास्त्री रबर्ट लिभीसित पोखेका विचारहरू ज्वारभाटा झैँ उभार्न थाल्छ मनमा ।

प्रसङ्ग आज नभएर झण्डै तीन दशक पहिलेको । मेसोकोज्म भक्तपुरवासीका जीवन्त संस्कृतिमाथि लेखिएको नृतत्वशास्त्रीय सिर्जना । किताबको गाताबाटै मूर्त हुन्छ भक्तपुरलाई प्रतिनिधित्व गर्ने नवदुर्गा नाचको स्वेतभैरव अवतार चित्र आकर्षक बनेको छ । स्वेत भैरव अवतार भन्न पुगेछु । स्वेत भैरव दशअवतारभित्र पर्दैन । दश अवतार परम्परागत । स्वेत भैरव मेरो कलम अवतार । कलम अवतार भन्नु विचार अवतार हुन सक्छ पनि नहुन सक्छ पनि । विचार अवतार पोख्न स्वर, शब्द र स्रोता भए पुग्छ । कलम अवतार पोख्न त्यसभन्दा बेसी अर्थोक पनि चाहिन्छ । अर्थोक भन्नु कलम एक हो । मात्र कलम भएर नि पुगोइन । कलमभित्र मसी चाहिन्छ । मसी सुकेको कलम अवतार पाउन सक्दैन । मसी निख्रेको कलमले अवतार गुमाइसकेको हुन्छ । मसीको पर्याय रङ्ग बन्छ । रङ्गअनुसार मसी बन्छ । मसी कालो, नीलो, हरियो, रातो जे पनि हुन सक्छ । रङ्ग अवतार अब कलम अवतारको सच्चा अवतार पनि लिन सक्छ । अथवा ठीक यसको उल्टो पनि । रङ्ग मसी बनिदिन्छ । मसी रङ्ग भइदिन्छ । सुल्टो उल्टो, उल्टो सुल्टो । यस्तै छ रङ्गअवतार । अवतारी रङ्गहरू ।

लाग्छ रङ्ग–अवतारहरू परम्परा पनि परम्परा मुक्ति पनि ! परम्परा रङ्गमा कैदी बन्न सक्छ । संस्कृति परम्पराका कैदमुक्त पनि रहन सक्छ । रङ्ग अवतार त्यसैले कैद पनि बन्न सक्छ । उन्मुक्ति पनि उस्तै । रङ्ग अवतारका प्रसङ्गमा मैले मेसोकोज्म ग्रन्थको स्मरण गर्न पुगेँ । नृतŒवशास्त्री रबर्ट लिभीसित रङ्ग–अवतारका प्रसङ्ग जोडेथेँ । रङ्ग अवतारका प्रत्यक्ष रूप–रङ्ग भनौँ रङ्ग–रूप नवदुर्गाका मकुण्डो र पहिरण बनेको छ । मकुण्डोमा नवदुर्गासित सटेका रङ्ग अवतारका रहस्य पढ्न सकिन्छ । मकुण्डो रङ्गका आकृति बन्छ । रङ्गीन रङ्गका वर्णविन्यास हुन् पुर्खाले रचना गरेका रङ्ग रहस्य । रङ्ग जो मकुण्डोमा जडिएका छन् नवदुर्गाका ध्यान बिम्ब बन्छन् । ध्यानलाई दार्शनिकहरू रङ्गीन मुद्रा भन्दा हुन् । रङ्गलाई ध्यान मुद्रा मान्नु रङ्ग दर्शनका सूक्ष्म संचेतना बन्छ । दार्शनिकहरू सूक्ष्म द्रष्टा हुन् । उनीहरू रङ्गलाई पनि ध्यानका रेशामा जप्छन्, कोर्छन् । भैरवका ध्यान नीलो, कालो र सेतो रङ्गमा मूर्तमान पार्छन् । नीलो रङ्गका भैरव आकाशभैरव बन्छन् । आकाशभैरवले सर्वकालिकतालाई प्रतिनिधित्व गर्छ । नीलो रङ्गले सार्वजनिकतालाई सम्वरण गर्छ । नीलो रङ्गले शाश्वततालाई सम्बोधन गर्छ । नीलो रङ्गले निरपेक्षतालाई परगेल्छ । आकाश अनन्त छ । भैरवको अनन्त आचारको प्रतिनिधि रङ्ग त्यसैले नीलो बन्छ । नीलो रङ्ग सर्वकालिक रहन्छ । आकाश सर्वकालिक छ । सबै युगमा आकाश उस्ताको उस्तै रहे । पृथ्वीका लागि आकास सदावहार नीलो नै स्थापित रह्यो । नीलो भैरवी रङ्गले सार्वजनिक उन्मत्ततालाई समेटेको छ । उन्मत्त भैरवको आकृतिले प्राणी मात्रमा समाहित यौन–रोमाञ्चक प्रवृत्तिलाई सम्वरण गर्छ । नीलो रङ्गले शाश्वतपनलाई सँगालेको छ । शाश्वतपन कृत्रिम हुन्न । शाश्वतपन प्राकृत रहन्छ । प्राकृत भन्नु नैसर्गिक पनि । नैसर्गिक आफ्नोपनको आफनै आकृतिवाहक हुन्छ । आफ्नै आकृतिवाहक नीलो रङ्ग सम्भवतः होइन निसन्देह शाश्वत ठहर्छ । आकाश भैरव रङ्ग नीलो रङ्ग ।

श्वेतभैरव रङ्ग हिउँको रङ्ग । श्वेत वर्ण हिमवत वर्ण । हिमवत वर्ण हिउँको आलय रङ्ग । हिउँ=हिम, हिम+आलय=हिमालय । श्वेतभैरव हिमालय रङ्ग । हिमालय=हिउँको घर । हिउँको घर स्वच्छन्द घर । महादेवको पौराणिक आख्यानात्मक तपोभूमि । कति पावन ! कति निर्मल ! कति आकर्षक ! कति आल्हादक ! कति रोमाञ्चक कति ! श्वेतभैरवको आकृति रङ्ग सेतो रङ्ग ! सेतो रङ्ग सञ्चेतनाको रङ्ग । सञ्चेतना सेतो हुन्छ । सेतो रङ्ग प्रतीकात्मक रङ्ग–निर्मलताको रङ्ग–निर्मल पवित्रता पनि । जहाँ निर्मल छ ! त्यहाँ पावनता छ । पावनता मायाको रङ्ग ! मायाको रङ्ग स्नेहको रङ्ग । स्नेह पवित्र हुन्छ । स्नेहालु रङ्ग बालापनको रङ्ग । बालापन निस्कलङ्क जीवन अवस्था । निस्कलङ्क अवस्था पवित्र अवस्था जिउँदो र जिउनुको स्पृहनीय अवस्था । श्वेतभैरव त्यसैले बालकहरू मनपराउँछन् । बालकहरूसित लहडबाजी गर्छन् । माछा मार्ने खेल खेल्छन् । बालकहरूसित लडिबुडी गर्छन् । काउकुती लगाउँछन् । हँसिलो सेता रङ्गका श्वते भैरव हँसिलो मुकुण्डो लाएर बालकहरूलाई हसाउँछन् । अझै अरू नाटकीय चालका नाच गर्छन् । लुगा धुन्छन्, निचोर्छन्, सुकाउँछन् । स्वेतभैरवभित्र भरिएको गाथाका गर्भहरू यत्तिकैमा नटुङ्गिन सक्छ । तर अहिलेलाई… किन अहिलेलाई मात्र यति नै ? श्वेत भैरव रङ्ग अवतार नीर रङ्ग अवतार पनि । नीर रङ्ग पानीको रङ्ग स्वरूप । पानी जति पखाल्न सक्छ मयललाई अरू केले सक्छ ? यो प्रश्नको प्रश्नै रहेको छ । त्यसैले श्वेतभैरव रङ्ग सेतो रङ्ग । सायद श्वेतभैरवले माछा मार्ने नाचपछि खास्टो धुनुको साङ्केतिक स्वाद यहीनिर पहिल्याउन पर्ने हुन आउँछ ।

 अवस्थाजन्य हुन्छ रङ्ग–अवतारका अवतारी चर्याका चर्चाहरू । रङ्ग–अवतारका प्रसङ्गमा कालभैरव वर्ण वा मकुण्डोको छुनामुना जडेथेँ ! शिवले संहार कार्यका लागि यमको दायिŒव निर्वाह गर्दा कालभैरवरूप धारण गर्दछन् । शैवमतमा कालो रङ्ग संहारको रङ्ग बन्यो । कालभैरव अवतार निख्राकालो बन्न पुगे । रङ्ग अवतार त्यसैले रङ्ग रहस्यका प्रसङ्ग बन्न पुग्छ । मृत्यु कालैको पर्याय बन्छ । जीवन ज्योति निभेको घडी कालैकालो । प्रकाश बिलाएको बेला कालै अँध्यारो ! माङ्गलिक शिवले मानिस प्राणीमाथि कात्रो ओढाइएको अवसर अन्धकारमय क्षण कालैकालो ! शौच र सघन समाप्तिको शीतलहर सघन कुइरो र कालो बादलले व्योम ढाकेको अवस्था सबैका लागि उत्तिकै दुच्छर र बेदनापूर्ण रहन्छ । भयावह रहन्छ भैरवको कालो आकृति–जन्य कालभैरव आकृतिका रङ्ग–अवतारका अवतारी–रङ्ग ! मात्र मकुण्डोमै सीमित कहाँ रहेको छ र रङ्ग–अवतारका आकारहरू ? कालो भयावह र विघ्न सूचक रङ्ग रहेर घाम छेक्न हामी कालै छाता उपयोग गर्छौं । कालोले घाम आपैmँमा रूमल्याउँछ । विज्ञान प्रयोगसिद्धी सत्य बोक्छ । प्रयोग प्रयोगैमा सीमित रहे अवैज्ञानिक बन्न पनि सक्छ । प्रयोगसिद्धी बनेपछि विज्ञान ठहर्छ । क्रिश्चियनहरू कालो पहिरणलाई आशौच वस्त्र मान्छन् । वरषी बार्दा उनीहरू कालै वस्त्र पहिरन्छन् । विरोधाभाष गर्नुपर्दा अचेल पाखुरीमा कालै पट्टी बाँध्छन् । अरूचिकर मान्छेप्रति अनास्था जाहेर गर्दा कालो झण्डा प्रदर्शन गर्नुको रहस्य यस्तैयस्ता छन् । रङ्गसितका रङ्ग–अवतारहरू कति अवतारी छन् ! सोच्न मलाई धाउ पर्छ सधैँ नै !

रङ्गहरू रङ्गै रहेर पनि रङ्गका अवतारहरू अनेक देख्न थालेँ यसरी । रङ्ग अवतारहरू देख्न थाल्दा एक प्रकारको रङ्ग मोह जागिरहेछ ममा । अब लाग्न थालिरहेछ कि रङ्ग मोहले मलाई रङ्ग अवतार दर्शन गराउन सघाइरहेछ । रङ्ग अवतारहरूका विश्लेषण गर्दागर्दै आपैmँ रङ्ग–अवतारी चोला बन्न थाल्छु । रङ्ग चोला भर्दा भर्दै यो वसन्तमा आफ्नै रङ्गीन उमेरलाई रूपान्तरित गर्न पुग्छु म । यस्तै धूनहरू बोकेर एकतारे बाजा तिरिङ, तिरिङ गर्दा म आपैmँ तिरिङमिरिङ बजिरहेको हुन्छु । यो एकलब्ध धूनले मलाई एकतारे फकीर बनाएझैँ लाग्दा आफ्नै भित्रबाट आफू हराएझैँ, भौँतारिए झैँ टिठ लाग्दो बन्छु । रङ्गका अवतारहरूमा नवदुर्गाका रङ्गाकृति देख्न थाल्छु । रङ्ग अवतारको नवदुर्गा नाचको महिमा अझै गाथा गाउन मनलाग्न थाल्छ । रङ्ग अवतारमा नवदुर्गा नाचको अवतार मकुण्डोहरू बन्छन् । त्यसैले रङ्ग अवतार आकाशभैरव, श्वेतभैरव र कालभैरवमै टुङ्गिन्नन् । रङ्गहरू रङ्ग अवतार लिन पुग्छन् एकपछि अर्को मकुण्डोमा ।

मकुण्डोभरि रङ्गिएका रङ्गहरू बालकुमारी (इन्द्रायणी) र कुमारीको फरक पाउन थाल्छु । बालकुमारी र कुमारीको अवतारी रङ्ग एकै छैनन् । मलाई मात्र होइन ! सबैलाई लाग्नेछ उस्तै । बालकुमारी बालकुमारी नै हुन् । नामैले बालकुमारी कलिली कुमारी । कलिली बालकुमारी चिनाउने रङ्ग पनि कलिलै मूत्र्याउने रातो रङ्ग देखिन्छ । हेर्दाहेर्दै कलिलो रातो रङ्गभित्रको बिम्ब बोध हुन थाल्छ । रङ्ग बोल्न थालेझैँ रङ्ग अभिव्यक्तिका माध्यम बनिरहेको रह्यै जस्तै मकुण्डोसितै म नि अवाकिन थाल्छु । मानौँ अवाकिनु मौनंसम्मतिलक्षणम् । रङ्ग अवाक । मकुण्डो अवाक । अवाक रङ्ग मुद्रा अवाक । अवाक रङ्ग अवतार । अवाक रङ्ग संस्कार । अवाक रङ्ग आकार । आकृतिमा अवाक रङ्ग अर्थमा अवाक । अवाक रङ्ग अवतारमा वाक–वाणि जोड्ने चेष्टा अवाकबाटै वाकवाणि पाउन खोजिरहेछ । मानौँ आमाको गर्भबाट कुनै अज्ञात नवजीवन लिएर शिशु पृथ्वीमा अवतरण हुन खोजिरहेझैँ मस्तिष्कबाट मेरो । प्रसव वेदनाबाट छट्पटिएको छ मस्तिष्क मैसित । प्रसव वेदना रङ्गलाई अवतारमा मूत्र्याउनुको ! प्रसव वेदना रङ्गलाई अवतारी वर्णमा उतार्नुको ! तैपनि प्रसव वेदना रङ्गीन लागिरहेकै हुन्छ । यस्तो रङ्गीन कि जीवन रङ्ग जस्तै । रङ्गिएका मकुण्डोहरू जस्तै । रङ्ग अवतारहरू जस्तै ।

कलिलो रङ्ग ओँठझैँ कमलो । सुकुमार उस्तै ओँठ कोमल । रङ्गमा सुरम्य ओँठझैँ सुकोमल रङ्ग अवतार । कुमारी रङ्ग अवतार । कौमार्य नै रङ्गको सुरम्य अवतार । अवतार जसले आँखै लोभ्याउँछ । मनै खिच्छ लगातार स्वाईंय्य, आफूतिर । सुरम्यपन एक आकर्षणका रङ्ग । सुरम्य रङ्ग अवतार विना तारका गतिमान मोबाइल फोन । विना तारका दूरदर्शन रङ्ग अवतार । रङ्ग अवतार विज्ञान । ज्ञान, अभिज्ञान, विज्ञान । ज्ञान विशुद्ध जानकारी । अभिज्ञान विमल स्मृति । विज्ञान व्यावहारिकमा नि क्रियात्मक ज्ञान । रङ्ग अवतार सम्झँदै रङ्गमा कुमारी अवतार लिन पुग्छिन् । रङ्ग अवतार कुमारी बन्न पुगिरहेकी हुन्छिन् । बालकुमारी अब मेरै रङ्ग अवतार मात्रमा बाँधिन्नन् । तरङ्गमा तरङ्गित रङ्ग झैँ फैलिन थाल्छिन् एक पछि अर्को चाक्लो घेरा बनाउँदै । लाग्न थाल्छ मलाई बालकुमारी रङ्ग अवतार अब नवदुर्गा भवानीबाट अनन्त भवानीका रङ्ग अवतारमा व्याप्तिन पुग्छिन् । बालकुमारी रङ्ग अवतार । अवतारी रङ्गमा उभारिएकी रङ्ग अवतारकी बालकुमारीबाट कुमारी !

कुमारी नि त एक रङ्ग अवतार । रङ्गमा उत्रिएकी एउटी रङ्ग कुमारी । गाढा रातो रङ्गमा चढेकी, हुर्किएकी रङ्ग अवतारकी कुमारी । गाढा रङ्ग भने मैले । हो, गाढा रङ्ग रगतकी । रगत गाढा रङ्ग अवतार । गाढा रङ्ग पूरापूर हुर्किएकी कुमारी रङ्ग । कुमारी रङ्ग यौवनकै रङ्ग अवतार बन्छन् । यौवन सबै सबै कुमारीहरूकै जीवन रङ्ग । रङ्ग जीवन गाढा रातो रङ्ग अवतार बन्न पुगेको हुन्छ । हृदय गढेकाका सौहार्द रङ्ग । दिल विछोड हुनेहरूका लागि मुटुछेड रङ्ग गाढा रङ्ग अवतार कुमारी रङ्ग । त्यसैले त भन्नैपर्ने जस्तो लाग्छ कुमारी रङ्ग अवतार नवदुर्गा लोकभन्दा मानषलोकका आवर्तन, परावर्तन, जीवन नर्तन, रङ्ग–दर्शन ! हेरी रहूँ लाग्ने, सँगाली राखूँ जच्ने, ज्यानै मच्ने पिङ जस्तै दोलायमान गाढा रङ्ग रङ्ग अवतार । अहिले मेरो सामुन्ने कुमारी रङ्ग अवतार लिइरहेछ । यतिखेर कुमारी रङ्ग अवतार छमछमाइरहेछ । नाचिरहेछ कुमारी रङ्ग अवतार लिएर । रङ्ग–अवतार लिएर नाचिरहेछ । रङ्ग अवतार पाएर मलाई लोभ्याइरहेछ । रङ्ग अवतारमा अवतरण गरेर अँगालो मारिरहेछ मलाई । म रङ्ग अवतारमा आबद्ध रहिरहेकी यी जिजीविषाले मलाई अँगाल्दै चुक्क चुक्क चुमिरहेझैँ लागिरहेछ ।

Skip This
Skip This
Logo