एन पि घायलको (रातो सलाम) कविता

एन पि घायलको (रातो सलाम) कविता

केन्द्रबिन्दु
27
Shares

‘रातो सलाम’

ओ प्रिय कमरेड
क्रान्ती एउटा आगोको मशाल हो

एउटा कमरेड एक झिल्को
जस्ले
व्यथितीका हजारौं पतकरहरु लाई
खरानी बनाइदिन्छ,
क्रान्ती भित्रको भ्रान्ती होस या
बाहिरको रहस्य नै
क्रान्तिकारीहरु
आगो पिएर अङ्गार ओकल्छ्न् ।

क्रान्तिमा होमिएका राता मान्छेहरू
साँच्चै परिवर्तनकारी हुँदा रहेछन्
निडर हुँदा रहेछन्
मृत्यु लाई आफ्नै झोलामा बोकेर
वारुद र छर्रा सङ्ग खेल्दा रहेछन्
आँफ्नै जिन्दगी सकिए पनि
सकिन दिँदा रहेनछन्
कोमल स्नेहले सहयोद्दाहरु
सकिँदो रहेनछ उनीहरूको क्रान्तीको यात्रा ।

रातो सलाम…
हजुर लाई रातो अनि तातो अभिवादन कमरेड।

क्रान्तिकारीको छातीमा देश लुकेको छ
त्यसैले
हाँसी हाँसी गोली थाप्न पनि तयार हुन्छन्।

देश लाई बुझ्ने मात्र क्रान्तिकारी हुन सक्छन्
यो समाज लाई परिवर्तन चाहनेहरु
जनजीविकाका सवाल उठाउनेहरु
साँच्चै क्रान्तिकारी हुन्छन चाहे जुनसुकै वाद अङ्गालोस।

बन्दुकको नालमा मात्र क्रान्ती हुँदैन
गोला बम र बारुदमा मात्र
न कि भाटा र लौरामा नै
त्यो त एउटा क्रान्तिको बिन्दु मात्र हो
त्यस्तै भर्खरको उग्र आन्दोलन ।

क्रान्ती बाट प्राप्त शक्तिको दुरुपयोगमा क्रान्ती नै क्षय हुन्छ
जस्तो कि
प्रतिक्रान्तिको जग भ्रष्टाचार, घुसखोर र महलको रवैयामा।

के हो क्रान्ति ?
आफै सर्वैसर्वा बन्ने हो?
दलाल लाई दलाल हो भन्न लगाएर आफैं दलाली गर्ने क्रान्ती हो ?
उस्लाई भ्रष्टचारी भन्दै आँफू भ्रष्टाचारमा झूम्मिने,
कमिसन र घुसपैठमा लाग्ने
आन्दोलनमा लागेकाहरु लाई ज्यूँदै जलाएर
व्याक्तिवादी
स्वार्थमा लिप्त हुने उत्सव हो क्रान्ती ?

झुठो आश्वासन र भ्रमको खेती हो र क्रान्ती ?
नूनतेलको चाकडी त हैन होला क्रान्ती ?
हो र ?
अहँ हैन हुँदै हैन ।

हैन
कसोरी भनू ?
विचारको लडाइँमा विचराहरुको विचारनै स्थापित नभएसी
कलुषित भावना हृदयमा बोकेर
आन्दोलनकारीको खोल ओढेर
आफ्नै र केवल रगतले छोएकाहरु लाई मात्र
आफ्ना देख्नेहरुले
रगतको रङ्ग एउटै हो भन्ने बुझ्न जरुरी छ
प्रतिक्रान्तिको खतरा बढीरहेको बेला ।

क्रान्तिको नारा मात्र भजाएर
स्वस्वार्थमा लिप्त
कमान्डर कान्तिकारी हुनै सक्दैन
न ऊ परिवर्तनकारी नै,
त्यो त पुँजिपती बर्गको रवैवा बन्न खोज्ने
श्रमजीविको
हाइहाइ बन्न चाहने नाइके मात्र हो
कमरेड ।
हजुर लाई क्रान्तिकारी अभिवादन कमरेड,
रातो सलाम।

निर्मल पौडेल (एन.पि.घायल) पर्वत।

Logo