कविताः महान सहिद कृष्ण सेन इच्छुकप्रति समर्पित “इच्छुक इच्छा”

कविताः महान सहिद कृष्ण सेन इच्छुकप्रति समर्पित “इच्छुक इच्छा”


काठमाडौं ।

इच्छुकका इच्छाहरूले
मुर्छा खाइरहेका बेला
म कसरी
यो मरुभूमि बनेको मनमा
व्यक्तिगत सपना रोपुँ ?

देश घाइते छ
नक्सामा होइन,
मान्छेका छातिहरूमा।
सडकहरू निसासिएका छन्,
नदीहरू मौन छन्,

नेपाल आमा
रातभरि
निदाउन सकेकी छैन।

राता कलमले
युग फेर्ने कविता लेख्न मन त छ,
तर
आँसुका व्याकरणहरू
कुन शब्दकोशमा भेटिन्छन् ?
कसरी उतारुँ
परेलीको डिलबाट झरिरहेका
यी सिसाका थोपा
अक्षरमा ?

निमको टुप्पोमा
टाँसिएको मसी

आमाको आँखाबाट झर्दै गरेको आँसु
उस्तै लाग्छ
तीखो,
तितो,

सीमान्तको पर्खालजस्तै
लिम्पियाधुरासम्म फैलिएको।

कसरी उठाउँ
म आगो ओकल्ने आवाजका मशालहरू
जब
कुरीति, व्यतिथि र भ्रष्टाचार
संविधानका अक्षरभित्रै
लुकेर बसेका छन् ?

देश लुट्ने लुटेराहरू,
सामन्त, दलाल,
भूमाफिया र तस्करहरू
राजनीतिक भाषणको
रङ्गीन पोस्टर बनेका बेला
इच्छुक रागमा बोल्न खोज्ने
जिब्रोहरूमा
हुकुमको ताला झुण्ड्याइन्छ।

हिरासतमा
घोक्रेठ्याक लगाइन्छ
गणतन्त्रको नाममा,
राजा फालेर आएको देशमा
राजसी दम्भ
नयाँ अनुहारमा फर्किएको बेला।

आज
चाहेर पनि लेख्न पाइँदैन
इच्छुक इच्छाहरू।
लेख्नु
अपराध बनेको छ।

लेखेकै भरमा
जेलका ढोका खुल्छन्,
तर
राज्यको ढुकुटी
कुम्ल्याउनेहरू
सुरक्षाको घेराभित्र हिँड्छन्।

भाडाका टट्टु,
कुकुरझैँ पालिएका गुण्डाहरू
सत्ताको दम्भमा
कानुनलाई खल्तीमा हालेर
सडक हिँड्छन्।

परिवर्तनका आवाज
निसासिँदै छन्,
सत्यताका निमहरू
बारम्बार भाँचिँदै छन्,
निष्पक्ष अखबारहरू
आगोमा हाल्ने
षड्यन्त्रहरू रचिँदै छन्।

चुड्किको इशारामा
छाडातन्त्र मच्चाउनेहरू
लोकतन्त्रको नाम बेचेर
स्वतन्त्रताको मासु चपाउनेहरू,
झोले मण्डलीको
राज्य स्थापना गरेर
नेपाल आमाको छातीमा
जुका र किर्नाझैँ टाँसिएर
रगत चुसिरहेका छन्।

सुन्नुहोस्
इतिहास मौन हुँदैन।
मातृश्राप
ढिलो लाग्न सक्छ,
तर
खाली फर्किँदैन।

त्यसैले
अमर इच्छुक इच्छाहरू
अङ्कुराउनै पर्छ।
चिल्ला पातहरू पलाउनै पर्छ,
हरभरा भएर
झाङ्गिनै पर्छ।

जराहरू
भूगर्भसम्म पुग्नै पर्छ,
सप्तरङ्गी फूलहरू
फूल्नै पर्छ।

परिवर्तनका सुवासहरू
हावामा छर्नै पर्छ,
मुक्तिका अक्सिजन
आकाशमाथि सम्म
फैलिनै पर्छ।

अन्ततः
फल्नै पर्छ
युगीन समानता,
स्वाधीनता

राष्ट्रप्रेमको फल
एकै हाँगामा।

किनकि
इच्छुक मर्दैन,
इच्छा मर्दैन
इच्छुक
युग बनेर
फेरि फर्किन्छ ।

Logo