उ
मरेन
संसारको
ढोंग म-र्यो
सहिद बन्यो ।
उसको मृत्यु
कुनै घटना थिएन,
त्यो
मानव सभ्यताको
नाङ्गोपन थियो
सहिद
गोलीले ढलेन,
गोली त
पहिले नै
अन्यायको टाउकोभित्र
सत्ता र शक्तिको उन्मादमा
राज गरिरहेको थियो ।
जब सत्य बोल्न
शब्द अपुग भए,
मान्छे
आफैँ
प्रमाण बन्यो जो सहिद हो ।
सहिद हुनु
वीरताको अन्तिम विन्दूसंगै
न्याय र मुक्तिका खाँतिर
झूटसँग
अन्तिम पटक
सम्झौता नगर्नु हो
उसको रगत
माटोमा झरेन,
त्यो
झूटको विवेकमा
छ्यापियो
र छ्यापिन्छ अझैपनी
कपूतहरुको
जिन्दगीमा ।
स्मृतीमा सहिद दिवस
हामी अझै
मानिस हुन नसकेको
प्रमाण बनेर नदोहोरियोस्
यदि आज पनि
अन्याय बाँचिरहेको छ,
सत्ता सुरक्षित छ,
र
सत्य डराइरहेको छ भने
सहिद
मरेको छैन ।
ऊ
हाम्रो जीवनको
सबैभन्दा
असहज प्रश्न बनेर
बाँचिरहने छ यूगौँयूग
यो माटो, माटो भएन भने
र
यहाँका मान्छेहरु मान्छे भएनन् भने ।
उनीहरू
झन्डा बोकेर मरेनन्,
उनीहरू
झन्डा बोकिनुअघि
मानिस हुन खोज्दा
मरे।
सहिदहरू
बन्दुकको आवाजमा शुन्य छन्
त्यसैले यो बुझ्नु
उनी हाम्रो
सामूहिक मौनमा
हत्या हुन्छन्
सहिदले के चाहेको थियो ?
यदी तिमिले बुझेनौ भने
हजार सहिद फेरी जन्मनेछन्
जो सत्तामा आँफूलाई भूलाइरहेछौ ।
सहिद
केवल नारा होइनन्
उनीहरू
समयको व्याकरणमा
रगतले लेखिएका
अव्यक्त वाक्य हुन्
जुन वाक्यले सत्ता र सडकलाई व्यूँझाइरहन्छ ।
सहिद झन्डा बोकेर मरेनन्
उनीहरू झन्डा बोकिनुअघि
मान्छे हुन खोज्दा मरे
देश खोज्दा मरे
न्याय खोज्दा मरे
तर
कहिल्यै मरेनन्
न्याय र सत्य जस्तै
र
सहिद बने
तिमी कुन न्यायको दोकान थापेर
के को कारोबार गरिरहेछौ ?
सहिद
मरेपछि सम्झिँदैनन्,
उनीहरू
तर उनीहरुलाई
नसम्झिँदा
अझै मर्छन्
आज सहिद लाई सच्चा मनले गहिरो गरि हेर
तिमी सहिद बन्न कत्रो साहस चाहिन्छ ?
एक सहिद मर्नु भनेको
हजार झूटको
एकैचोटि
पोस्टमार्टम हुनु हो।
सहिद बन्नु
मर्नु होइन
यो
झूटको पेट चिरेर
सत्य निकाल्नु हो ।
जब न्यायको अदालत दृष्टीमा
कालो पट्टी बाँधिन्छ
जहाँ विधान
लजाएर चुप लाग्छ
कठघराको वकालतमा
झूट उभिन्छ तव
मान्छे मान्छे हुँदैन
सहिद हुन्छ।
आज पनि भाषणमा बाँचेको छ देश
जसमा न्याय छैन,
त्यो
सहिदमाथिको
दोस्रो गोली हो मान्यवर ।
मान्छे मान्छे भएर स्मरण गरौँ आज सहिद दिवस ।
निर्मल पौडेल (एन पी घायल)





























प्रतिक्रिया