काठमाडौं । नेपालका प्रतिष्ठित इतिहासविद् ज्ञानमणि नेपालको दोस्रो स्मृति दिवसको अवसरमा ‘इतिहास पुरुष : ज्ञानमणि’ नामक बृहत् स्मृतिग्रन्थको लोकार्पण गरिएको छ।
वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ग्रन्थको लोकार्पण गरेकी हुन् ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारीले इतिहास, संस्कृति र साहित्यका क्षेत्रमा ज्ञानमणि नेपालले पुर्याएको योगदान नेपाली समाजका लागि अतुलनीय र गौरवशाली रहेको बताइन् । उनले नेपालले सिर्जना गरेका उपयोगी ग्रन्थहरूले भावी पुस्तालाई समेत मार्गदर्शन गर्ने उल्लेख गरिन् ।
प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारीको विशेष आतिथ्य रहेको थियो। समारोहमा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त, प्रा.डा. हरिप्रसाद पराजुली, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, र टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत लगायतले स्व. नेपालको बहुआयामिक व्यक्तित्व र प्राज्ञिक निष्ठाको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सचिव एवं स्मृतिग्रन्थका सम्पादक कोषराज न्यौपानेले स्वागत मन्तव्य राख्दै ज्ञानमणि नेपाललाई इतिहासको प्रामाणिक तथ्यलाई अकाट्य रूपमा प्रस्तुत गर्न सक्ने उद्भट अनुसन्धाताका रूपमा चित्रण गरे । उनले यो ग्रन्थ एक स्थायी दस्तावेजका रूपमा पठनीय र सङ्ग्रहणीय रहने विश्वास व्यक्त गरे ।
अर्का सम्पादक प्रह्लाद पोख्रेलले २१औँ शताब्दीको नेपाली सामाजिक परिवेशमा ज्ञानमणि नेपाल एक विराट् बौद्धिक धरोहर रहेको र ग्रन्थले उनको जीवनका विविध पाटोलाई समेटेको जानकारी दिए । यस्तै, स्मृतिग्रन्थका व्यवस्थापक एवं स्व. नेपालका सुपुत्र सन्तोषमणि नेपालले ग्रन्थको प्रकाशन र यसमा समाविष्ट विषयवस्तुबारे प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए ।





























प्रतिक्रिया