सन्दर्भ आमाको मुख हेर्ने पर्व : स्वार्थ

सन्दर्भ आमाको मुख हेर्ने पर्व : स्वार्थ


घरमा भएकी ती बुढी आमालाई,
एक गिलास  पानी सम्म दिन नभ्याउने तिमी ,
म मरेको बाबुलाई सम्झेर किन धुरुधुरु रुन्छौ ?
थाहा  छ मलाई,

तिमी रुनुमा  पनि स्वार्थ छ भनेर।
थोरै भए पनि आश्वासन पाउछु भनेर  होइन ?
तिम्री आमा खाली गोडा हिडिरहेकि छिन
तर

तिम्रो फुर्सद छैन
तिम्री आमालाई  एक जोर चप्पल किनेर ल्याइदिने
किनकी
तिमी त बृद्ध आश्रम जानू छ ,
दुई चार शब्द बोल्नु  छ ,
अनि
त्यहाँ बाट पनि सहानुभूतिका गुच्छा बटुलेर फर्कनु छ ।
हेर्दैछु

म ,
तिम्री आमा हाम्रो बिछ्याउनामा  छटपटाई रहेकी ,
तातो पानी राखिएको थर्मसबाट ,
एक गिलास  पानी सार्न सम्म नसकेकी ,
ताते ताते गर्दै शौचालय सम्म जान  नसकेकी ।
तर

सुन्दै छु ,
एउटा  ठूलो  सभामा
तिमीले  गर्वका साथ चिच्याएर बोलेको ,
“वृद्ध बा आमा भनेमा हाम्रो देशका  खम्बा हुन ,
उहाँहरुको  संरक्षण गर्नु हाम्रो  कर्तव्य हो ।“
सभा बाट तिमीलाई थुप्रै ताली आउछ्न ,
अनि  बधाई  पनि ।
तर
तिमीले  आफ्नो कर्तव्य चटक्कै बिर्सिएर
फगत एक  शब्द बधाईको लागि  मिहिनेत गरिरहेका छौं ।
सँगै हुँदा
तिम्री आमाले छोरासँग एउटा  तस्बिर खिचौन भन्दा
मलाई  हतार छ  भनेर बहाना बनाउने  तिमी
आज
मेरा फोटाहरुले तिम्रो  घरका  भित्ताभरि स्थान पाएका छ्न
तिम्रो साथी आउँदा
मदिराको नशामा रमाउँदा
पल्लो कोठामा छटपटाइरहेकी
तिम्री आमालाई  बिर्सिदै
मेरो  सम्झनामा तिम्रो आँखा  रसाउछन ।
था  छ  मलाई
तिमी पनि  मै  हुर्केको  समाजमा  छौं ।

लेखक– नेपाली भाषामा र साहित्यमा स्नातकोत्तर सम्पन्न गरि अहिले अध्यापन गरिरहेका छन्।
(सम्पूर्ण आमाहरुप्रति माया र  सम्मान )

लेटाङ्ग नगरपालिका ६ मोरङ्ग

 

Logo