सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न

सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न


२७ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा हिमाली संरक्षण समूह र ‘सिर्जना र असार’ पोखराको संयुक्त आयोजनामा सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ। 

नेपाल, नेदरल्याण्ड, पोर्तुगल, अमेरिका, बेलायत र क्यानडा गरी विभिन्न देशहरुबाट कविहरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रममा संस्कृति र प्रकृति विषयमा केन्द्रित विभिन्न कविता तथा मुक्तकहरु वाचन गरिएका थिए। सो अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथिको रुपमा सहभागी थिए भने समकालीन साहित्यकारहरु निलम कार्की ‘निहारिका’, रोशन  शेरचन, अभय श्रेष्ठ, र विजय हितानले समीक्षा तथा अन्तरक्रियामा प्यानल मेम्बरको भूमिका निभाएका थिए।

सह-आयोजक "सिर्जना र असार"को तर्फबाट कवि धनप्रसाद तामाङले प्रकृति, संस्कृति र प्रविधिको तादात्म्य सम्बन्ध रहेको र भूमि पुत्र/आदिवासीहरुको प्राकृतिक श्रोतमा पहिलो अधिकार हुनुपर्ने र यसमा कवि कलाकारले अनवरत कलम चलाई रहनु पर्नेमा जोड दिए। 
     
कविहरू तीर्थराज अधिकारी, ईश्वरी भट्ट, भीम रानाभाट, कविराज तामाङ, हरिशरण परियार, ध्रुव सापकोटा, सजना गोले, मुक्ति गौतम, राजेन्द्र अर्याल, सुरेश रानाभाट, नारायण मरासिनी, अभय श्रेष्ठ, दिपक बाईबा, कुमार शर्मा, अरुण श्रेष्ठ, देवेन्द्र सापकोटा, शिखर दुलाल, रोशन  शेरचन, विजय हितान, विकास लुङ्गेली, र सरुभक्तले आफ्नो मुक्तक वा कविताहरु वाचन गरे। प्रस्तुत गरिएका रचनाहरु मानवको लोभ र लालचले भैरहेको प्राकृतिक श्रोतको दोहन र यसले निम्त्याई रहेको बिपत्तिबारे जनचेतना जगाउने सशक्त थिए।    

कार्यक्रमको दोस्रो सत्रमा कवि ऋषि बस्ताकोटीले समीक्षात्मक तथा अन्तर्क्रियात्मक कार्यक्रमको सुरुवात गर्नको लागि अहिले प्राकृतिक स्रोतलाई हेर्ने विभिन्न दृष्टिकोणहरु मध्ये मानव केन्द्रित र वातावरण केन्द्रित दृष्टिकोणहरु रहेको र संरक्षण सम्बन्धी साहित्यकार-कविहरुले खेल्नुपर्ने दायित्वबारे भूमिका प्रस्तुत गर्दै कवि सरुभक्त र अन्तरक्रियामा प्यानल मेम्बरहरुलाई आफ्नो मन्तव्यका लागि आमन्त्रण गरे। 

प्रमुख अतिथि  वरिष्ठ कवि सरुभक्तले २०५५ सालमा सुरुवात गरेको संरक्षण कविता यात्राको “संरक्षण नै जीवन हो जीवन नै संरक्षण” भन्ने मूल नारा अझै पनि विश्व वातावरण संरक्षणको लागि मुलमन्त्र भएको बताउँदै हाम्रा हरेक क्रियाकलापले भविष्यका सन्ततिलाई एउटा सुरक्षित वातावरण प्रदान गर्न सकोस् भन्ने कामनासहित पोखराबाट सुरु भएको संरक्षण यात्रा विश्वव्यापी होस् भन्ने चाहना व्यक्त गरे। सो कार्यका लागि विश्वका विभिन्न संरक्षण आन्दोलनका कवि कलाकारहरुसँग संवाद भइराखेको र निकट भविष्यमा सहकार्य गर्न सकिने बताए। 

साहित्यकार नीलम कार्की ‘निहारिका’ले सम्पदा र संस्कृतिमाथिको अतिक्रमण र यसले निम्त्याएको बिपत्तिहरु बारे बोल्दै हालसालै भइराखेको मेलम्चीको बिनासबारे उदाहरणसहित प्रस्तुत गरिन्।  पर्यावरण र संस्कृतिमाथि भइराखेको अतिक्रमण बारे जनचेतना जगाउन र सरकारलाई पनि घचघच्याउन हामी साहित्यकारहरुले कलम चलाई राख्नु पर्ने आवश्यकता रहेको भन्ने विषयमा उनले बोलेकी थिइन्।

Logo