साहित्य सङ्गमले स्रष्टाहरूलाई सम्मान गर्दै

साहित्य सङ्गमले स्रष्टाहरूलाई सम्मान गर्दै

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ। सङ्गमको आज मङ्गलबार बसेको बैठकले साहित्यकारहरु सम्मान गर्ने निर्णय गरेको हो ।

सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विद्यामा योगदान पुर्याएका साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको छ । 

सङ्गमले वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ। भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ। यस्तै, साहित्य सङ्गम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ। जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। 

यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गरिने भएको छ। साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ। हाल अमेरिका निवासी मकवानपुरका बासिन्दा दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार  साहित्यकार दीपक गौतमलाई  प्रदान गर्ने निर्णय गरिएको छ। जसको राशी १० हजार रहेको छ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिने निर्णय भएको छ। जसको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ। यसैगरी हास्यव्यङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ। जसको राशी ५ हजार रुपैयाँ रहेको छ। यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिंदै आएको छ। 

यसैगरी, शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ। शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ। यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत विद्यार्थीबीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिँदै आएको छ। यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यस वर्षबाट स्थापना गरेको मुक्ति–तारा साहित्य पुरस्कार समीक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ। जसको राशी १० हजार रुपैयाँ रहेको छ। यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशील साहित्यकारलाई प्रदान गरिने जनाइएको छ। 

सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड–१९ को संक्रमण न्यूनिकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरि प्रदान गरिने सङ्गमकी अध्यक्ष न्यौपानेले जानकारी दिइन्।

Skip This
Skip This
Logo