कथा दिवसमा कथाकार गुरुप्रसाद मैनालीको सम्झना

कथा दिवसमा कथाकार गुरुप्रसाद मैनालीको सम्झना

केन्द्रबिन्दु
0
Shares

साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको  उपलक्ष्यमा आज प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो। संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको छ। संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य माया ठकुरीले प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताइन्। 

सो अवसरमा कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल, राधा कार्की, निर्मल पराजुली, मौनता थापा र श्रीराम राईले लघुकथा वाचन गरेका थिए। कार्यक्रमको दोस्रो चरणमा गुरुप्रसाद मैनाली र नेपाली कथा साहित्यबारे भएको संवाद कार्यक्रममा वक्ताहरूले मैनालीको योगदानको स्मरण गरेका थिए। 

संवाद कार्यक्रममा समालोचक प्रमोद प्रधानले मैनालीको नेपाली कथासाहित्यमा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको बताउँदै विषयवस्तु, संरचना, शैली र भाषा सबै दृष्टिले उनी नेपाली कथाका पहिलो आधुनिक कथाकार भएको चर्चा गरे। 

कथाकार गोविन्द गिरी प्रेरणाले  मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गरे। कथाकार बाबा बस्नेतले मैनालीका कथाका नारी पात्रहरूमा विद्रोह चेतना नभएर पलायन प्रवृत्ति रहेको बताइन् ।

समालोचक उपमा आचार्यले मैनालीका कथाहरू नेपाली साहित्यका मानक कथा भएको   धारणा राखिन् । संवाद कार्यक्रमका सहजकर्ता साहित्यकार डा.दामोदर पुडासैनी किशोरले मैनालीको योगदानलाई कसैले पनि बिर्सन नहुने उल्लेख गरे। कार्यक्रममा अमेरिकाबाट आएकी साहित्यकार मीना शाक्यलाई सम्मान पनि गरिएको थियो । 

मुरारी सिग्देलले संचालन गरेको सो कार्यक्रममा थाहा पुस्तकालयका उपाध्यक्ष शिव अधिकारी, स्व. मैनालीकी कान्छी बुहारी भारती मैनाली, विमल भौकाजी, डा. सृजना शर्मा, उषा केसी, कमला शाक्य, पारू तिमिल्सिना, मुना बोहरा, मधुसूदनप्रसाद घिमिरे, हेमा शर्मा लगायतको उपस्थिति थियो।

Skip This
Skip This
Logo