गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ११ औं कृति उपन्यास ‘कफी लभ’ आजदेखि बजारमा आएको छ ।
आज प्रणय दिवसको अवसर पारेर सो कृति सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक तथा प्रकाशक लगायतले पुस्तकको बिमोचन गरेका थिए ।
कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले उनीहरुको जीवनमा ल्याएको आरोह अवरोहको कथामा प्रस्तुत उपन्यासको विषयवस्तु केन्द्रीत छ ।
पुस्तकबारे बोल्दै कुलपति गंगाप्रसाद उप्रेतीले अहिलेका युवा पुस्ताको प्रेम एवम् जीवनशैली र बर्तमान नेपाली समाजको अवस्थालाई कफी लभ’ले छर्लङ्ग पारेको बताए ।
यस्तै आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले प्रस्तुत गरेको बताए । आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको संगतमा रही उनीहरुको प्रेम भावलाई पुस्तकमा समेटेको अनुभव सुनाएका थिए ।
संगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै उनका अन्य उपन्यास भन्दा यो निकै फरक शैलीको रहेको बताएका थिए । यस्तै प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही किताबमा परेको महसुस पाठकलाई हुने बताए ।
शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया