कांग्रेसले घोराही उपमहानगर नछोड्ने, उपमेयरमा माओवादीलाई प्रस्ताव

कांग्रेसले घोराही उपमहानगर नछोड्ने, उपमेयरमा माओवादीलाई प्रस्ताव


केन्द्रमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा नमिलिरहेको अवस्थामा नेपाली कांग्रेसले घोराही उपमहानगर नछोड्ने बताएको छ। कांग्रेस घोराही उपमहानगर समितिले मंगलबार पत्रकार सम्मेलन गरि घोराही छाड्न नसकिने बताएको हो। 

सत्ता गठबन्धनबीच तालमेलका लागि रस्साकस्सी चलिरहेको सन्दर्भमा कांग्रेसले घोराही छाड्न नसकिने भन्दै पत्रकार सम्मेलन गरेको हो । गएको निर्वाचनको मत परिणाम र स्थानीय कार्यकर्ताको भावना विपरीत गठबन्धनले भागबन्डा गर्न नहुने घोराही नगरका सभापति तिलक रावतले बताए । 

एमालेले बहालवाला मेयर नरुलाल चौधरीलाई नै यसपटक अघि सार्ने तयारी गरेको छ भने कांग्रेसले अघिल्लो निर्वाचनमा एमालेका नरुलाल चौधरीसँग पराजित भूपबहादुर डाँगीकै नाम सिफारिस गरेको छ। गएको निर्वाचनमा चौधरीले डाँगीलाई पराजित गरेका थिए। तर यसपटक टिकट पाएमा आफूले सजिलै चुनाव जित्ने डाँगीको दाबी छ। 

०७४ को स्थानीय निर्वाचनमा एमालेले मेयर र उपमेयर जितेको थियो भने कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा आएको थियो। दाङ क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका रहेका छन्। बङ्गलाचुली गाउँपालिका माओवादीले जितेकाले घोराही उपमहानगरपालिका आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ।

Logo