स्थानीय तहको निर्वाचनमा कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी ?

स्थानीय तहको निर्वाचनमा कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी ?

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको लागि फरक फरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ। 

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारी दिँदा राख्नुपर्ने धरौटी रकमबारे स्पष्ट उल्लेख गरिएको छ। 

वडासदस्य, वडाध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख लगायतका पदमा उम्मेदवारी दिँदा निश्चित रकम धरौटी राख्नुपर्नेछ। 

निर्देशिका अनुसार वडासदस्य पदको लागि पाँच सय रुपैयाँ र वडाध्यक्ष पदमा उम्मेदवारी दिँदा एक हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। 

यस्तै अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँकार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

जिल्ला समन्वय समितिको सदस्य पदको लागि एक हजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदको लागि दुई हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान राखिएको छ। 

महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ। 

‘कुनै एउटा पदको निर्वाचनमा एक व्यक्तिलाई उम्मेदवार मनोनयन गर्नको लागि एकभन्दा बढी मनोनयनपत्र दाखिला गर्नु परेमा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राख्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ। 

Logo