यी हुन् २ उपमहानगर, ९ नगर र १५ गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार

यी हुन् २ उपमहानगर, ९ नगर र १५ गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार


स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि दलहरूले आ-आफ्नो तर्फबाट पार्टीको उम्मेदवार खडा गरेका छन् भने अधिकांश स्थानमा स्वतन्त्र उम्मेदवारहरूले समेत मनोनयन दर्ता गरेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच दलीय सत्ता गठबन्धनको विपक्षमा स्थानीय तहको निर्वाचन लड्दै छ। देशभरका ७५३ स्थानीय पालिकाका लागि एमालेले आफ्नो पार्टीको तर्फबाट मनोनयन दर्ता गरिसकेको छ। 

हालसम्म प्राप्त विवरणअनुसार एमालेले उपमहानगरमा २ जना, नगरपालिकामा ९ जना र गाउँपालिकामा १५ जना महिला प्रमुख पदमा उम्मेदवार उठाएको छ। देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन्।

यी हुन् उपमहानगर मेयरमा एमालेका २ महिला उम्मेदवार
एमालेले ११ उपमहानगरमध्ये २ वटामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ। जसअनुसार एमालेले सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाएको छ । निवर्तमान उपमेयरसमेत रहेकी भण्डारी एमाले केन्द्रीय सदस्यसमेत हुन् । 

त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयर पदमा एमालेले महिलालाई अगाडि सारेको छ। जितपुर सिमराको मेयरमा एमालेका सरस्वतीदेवी चौधरीले उम्मेदवारी दर्ता गरेकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी चौधरीलाई एमालेले नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । चौधरी एमाले केन्द्रीय सदस्य र बारा जिल्ला सह इन्चार्जसमेत हुन् ।

नामावलीः
१.    मञ्जु भण्डारी सुवेदी – धरान उपमहानगरपालिका, सुनसरी
२.    सरस्वतीदेवी चौधरी – जितपुर सिमरा उपमहानगरपालिका, बारा 

यी हुन् नगरपालिकाका ९ एमाले महिला उम्मेदवार
यसैगरी एमालेले ९ नगरपालिकाको प्रमुखमा महिला उम्मेदवार उठाएको छ। जसअनुसार झापाकाे दमक नगरपालिकाको मेयरमा गीता अधिकारी र बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरालाई उम्मेदवार बनाएको छ। उनीहरू दुवै जना यसअघि उपमेयर भएर काम गरिसकेका छन् । 

चितवनको रत्ननगर नगरपालिकामा विमला दुवाडीलाई एमालेले मेयरको उम्मेदवार बनाएको छ। त्यस्तै एमालेले धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठलाई उम्मेदवार बनाएको छ। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन् । ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख हुन्। अछामको साँफेबगर नगरपालिकाको मेयरमा पशुपति कुँवरले उम्मेदवारी दर्ता गरेकी छिन् । कुँवर एमालेको जिल्ला सदस्य हुन् । 

कञ्चनपुरको वेदकोट नगरपालिकाको मेयरमा एमालेकी सुशीला सिंहले उम्मेदवारी दर्ता गरेकी छिन्। त्यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिकाको मेयरमा कमला बोहराले उम्मेदवारी दर्ता गरेकी छिन्। उनी एमालेको केन्द्रीय सदस्यसमेत हुन्। गोरखाको गोरखा नगरपालिकाको मेयरमा एमालेले सम्झना देवकोटालाई उठाएको छ।

नामावलीः
१.    गीता अधिकारी – दमक नगरपालिका, झापा
२.    पवित्रा महतरा – बिर्तामोड नगरपालिका, झापा
३.    विमला दुवाडी – रत्ननगर नगरपालिका, चितवन
४.    गंगादेवी श्रेष्ठ- नीलकण्ठ नगरपालिका, धादिङ
५.    मोहनमाया ढकाल – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
६.    पशुपति कुँवर – साँफेबगर नगरपालिका, अछाम
७.    सुशीला सिंह – वेदकोट नगरपालिका, कञ्चनपुर
८.    कमला बोहरा – बेलौरी नगरपालिका, कञ्चनपुर 
९.    सम्झना देवकोटा – गोरखा नगरपालिका, गोरखा

यी हुन् गाउँपालिकाका १५ एमाले महिला उम्मेदवार
एमालेले मोरङको कानेपोखरी गाउँपालिकामा राजमती इङ्नामलाई अध्यक्षमा उठाएको छ। त्यस्तै मोरङकै जहादा गाउँपालिकामा यशोदा गिरीलाई उम्मेदवार बनाएको छ। ओखलढुङ्गाको सिद्धिचरण गाउँपालिकाको अध्यक्षमा एमालेकी इच्छाकुमारी गुरुङ अध्यक्षमा उम्मेदवारी दिएकी छिन्। त्यस्तै झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेललाई एमालेले उम्मेदवार बनाएको छ। भुर्तेलले यसअघिको निर्वाचनमा उपप्रमुख जितेकी थिइन्। 

चितवनको माडी गाउँपालिकाको अध्यक्षमा ताराकाजी कुमारी महतोलाई एमालेले उम्मेदवार बनाएको छ। उनले यसअघि उपाध्यक्षमा जितेकी थिइन् । सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा एमालेले पार्वती सुनुवारलाई उठाएको छ। त्यसैगरी पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा एमालेले सरस्वती चिदी दर्लामी मगरलाई टिकट दिएको छ। 

पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष पदमा हिरादेवी शर्माले उम्मेदवारी दिएका छन् । उनी एमालेको गण्डकी प्रदेश कमिटी सदस्य हुन् । 

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा पदमावती यादवलाई एमालेले उम्मेदवार बनाएको छ। पदमावती यादव एमालेका तत्कालीन केन्द्रय सदस्य दिनेशचन्द्र यादवकी पत्नी हुन्। त्यस्तै बाँकेकाे डडुवा गाउँपालिकाको अध्यक्षमा एमालेले सरोज कुमारी यादवलाई उम्मेदवार बनाएको छ। सरोज कुमारीले २०५४ सालमा तत्कालीन होलीया गाविसको अध्यक्ष भएरसमेत काम गरेकी थिइन् । 

कैलाली जिल्लाको कैलारी गाउँपालिकाको अध्यक्षमा एमालेले झुमा चौधरीलाई उम्मेदवार बनाएको छ। गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्षमा गीताकुमारी पोखरेललाई एमालेले उठाएको छ। 

खोटाङको खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र खोटाङकै बराह पोखरी गाउँपालिकाको अध्यक्षमा एमालेले गोमा मगरलाई उम्मेदवार बनाएको छ। यसैगरी मकवानपुरको मनहरि गाउँपालिकामा एमालेले सुजिता थिङलाई अध्यक्षको उम्मेदवार बनाएको छ। 

नामावली
१.    राजमती इङ्नाम- कानेपोखरी गाउँपालिका, मोरङ
२.    यशोदा गिरी- जहादा गाउँपालिका, मोरङ
३.    इच्छाकुमारी गुरुङ- सिद्धिचरण गाउँपालिका, ओखलढुङ्गा
४.    मीरा भुर्तेल- बुद्धशान्ति गाउँपालिका, झापा
५.    ताराकाजी कुमारी महतो – माडी गाउँपालिका, चितवन
६.    पार्वती सुनुवार – फिक्कल गाउँपालिका, सिन्धुली
७.    सरस्वती चिदी दर्लामी मगर – बगनासकाली गाउँपालिका, पाल्पा 
८.    हिरादेवी शर्मा – मोदी गाउँपालिका, पर्वत
९.    पदमावती यादव – नरैनापुर गाउँपालिका, बाँके
१०.    सरोजकुमारी यादव – डडुवा गाउँपालिका, बाँके 
११.    झुमा चौधरी – कैलारी गाउँपालिका, कैलाली
१२.    गीताकुमार पोखरेल- अजिरकोट गाउँपालिका, गोरखा
१३.    कविता राई – खोटेहाङ गाउँपालिका, खोटाङ
१४.    गोमा मगर – बराह पोखरी गाउँपालिका, खोटाङ 
१५.    सुजिता थिङ – मनहरि गाउँपालिका, मकवानपुर

Logo