टिकट वितरणमा असन्तुष्ट बनेका तनहुँका कांग्रेस नेताहरुको सामूहिक राजीनामा

टिकट वितरणमा असन्तुष्ट बनेका तनहुँका कांग्रेस नेताहरुको सामूहिक राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन्। टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका छन्। एकातिर नेपाली कांग्रेसबाट साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै कांग्रेस चेपुवामा परेको हाे।

दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्वसचिव विश्व बास्तोलासहित सात जना नेताले राजीनामा दिएका छन्। 

शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन् । उनी महासमिति सदस्य पनि हुन्। उनले सोमबार शुक्लागण्डकीको मेयरमा बागी उम्मेदवारीसमेत दिएका छन्। 

शुक्लागण्डकीका कांग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुणामणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिए । पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, महतले वडा नम्बर ८ को वडाध्यक्षमा, दाहालले व्यास नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा र थापाले वडा नम्बर २ को वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन् । 

व्यासको मेयरमा पुराना कांग्रेसी नेता बृषराज श्रेष्ठको पनि बागी उम्मेदवारी परेको छ। बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस नेता मानकाजी श्रेष्ठले बागी उम्मेदवारी दिएका छन्। तनहुँमा कांग्रेसका कार्यकर्ताहरुले पैसामा टिकट वितरणको आरोप लगाएका छन्।

Logo