नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनु भएको हो । ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उनले खेद प्रकट गरे ।
ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दापनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
उनले भने, ‘आचारसंहितालाई धज्जी उडाएर आफुखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लो स्तरबाट जसरी कुराकानी आइराख्या छ । स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द केही समय अगाडी उहाँले बोल्ने क्रममा हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर जस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ । र यो निर्वाचन आयोगले यस सम्बन्धमा हामी गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहान्छौँ । नेपाली कांग्रेस पार्टीले एकदम शालिनतापूर्वक राखेका विषयमा पनि यहाँ पत्र आइहाल्छ । तर यस्तो घोर आपत्तिजनक बोल्नै नमिल्ने आचारसंहिताको बेलामा मात्रै होइन अघिपछि पनि बोल्न नमिल्ने अभिव्यक्तिहरु आइराख्या छन् तर केही पनि नभएको जस्तो रुपमा उहाँहरुलाई मात्रै यो जे पनि बोल्ने, गर्ने छुट भएजसरी जुन आएको छ यसकाप्रति पनि हामी गम्भिर ध्यानाकर्षण गर्न चाहान्छौँ ।’
एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी समेत गरे ।
प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाउनुभएको हो । उहाँले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।





























प्रतिक्रिया