पोखराको मेयरमा २८ र उपमेयरमा ११ जनाको उम्मेदवारी, मेयर–उपमेयरमै पुरुष उम्मेदवार

पोखराको मेयरमा २८ र उपमेयरमा ११ जनाको उम्मेदवारी, मेयर–उपमेयरमै पुरुष उम्मेदवार


पोखरा महानगरपालिकाको मेयरमा २८ र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा एमालेबाट कृष्णबहादुर थापा र गठबन्धनमा एकीकृत समाजवादीका धनराज आचार्यबीच प्रमुख प्रतिश्पर्धा हुनेछ। यहाँ विवेकशील साझा पार्टीकी सुशिला केसी, राप्रपाका शंकर खराल, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी उठेका छन् ।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, आमूल परिवर्तन मसिहा पार्टीकी मुना बानियाँ, नेपालका लागि नेपाली पार्टीकी रोशनी बानियाँ, राष्ट्रिय नागरिक पार्टीकी सृजनादेवी रिजाल, देशभक्त समाजका रनबहादुर दमैको उम्मेदवारी परेको छ ।

जनमत पार्टीका सरण सिंह मोक्तान, मौलिक जरोकिलो पार्टीका सन्जय तिमिल्सिना, राप्रपा नेपालका गोविन्द गुरुङ, सचेत नेपाली पार्टीका भोजराज खनाल, नेकपा समाजवादीका गोविन्दप्रसाद शर्मा, उन्नत लोकतन्त्र पार्टीका आशिष थापा र नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठीले उम्मेदवारी दिए ।

स्वतन्त्रमा किशान सिंह गुरुङ, विमलबहादुर कार्की, खडकराज पौडेल, नवराज बास्तोला, रामराज अधिकारी, सुनिलबहादुर कोइराला, डिलबहादुर गुरुङ, नन्दप्रसाद तिवारी, ऋषिराम सापकोटाको मनोनयन दर्ता भएको छ। स्वतन्त्रबाट उम्मेदवारी दिएका कार्की, तिवारी र सापकोटा गठबन्धनबाट बागी उम्मेदवार हुन् । उनीहरु सबै कांग्रेस नेता हुन् । किशान भने विप्लव माओवादीबाट उम्मेदवारी दिएका हुन् ।

पोखराको उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ र कांग्रेसकी कोपीला रानाभाटबीच बढी प्रतिश्पर्धा हुन्छ । यहाँ विवेकशील साझा पार्टीका माधव भण्डारी, राप्रपाकी रन्जना कुमारी सेन, मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका पदमबहादुर गुरुङ, राप्रपा नेपालकी चिना दवाडी, सचेत नेपाली पार्टीकी सोनी परियार, नेकपा समाजवादीकी शितला थापा, नेकपा माओवादी समाजवादीकी इन्द्र सुनार र स्वतन्त्रबाट सोममाया विक उम्मेदवार बने । विक विप्लव माओवादीकी नेतृ हुन् ।

नेकपा माओवादी समाजवादी र नेशनल मंगोल अर्गनाईसेजनबाट दुवै पदमा पुरुष उम्मेदवार उठाएका छन् । मासले मेयरमा भोजराज त्रिपाठी र उपमेयरमा इन्द्र सुनारलाई उठाएको हो । उता नेशनल मंगोल अर्गनाईजेसनले मेयरमा प्रेमप्रसाद गुरुङ र उपमेयरमा रामबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन मापदण्ड अनुसार एउटै पार्टीले उम्मेदवार उठाउँदा मेयर र उपमेयरमा फरक लिंगको हुनुपर्ने अनिवार्य ब्यवस्था छ।

Logo