सिन्धुपाल्चोककाे १२ स्थानीय तहमा २ हजार २१८ उम्मेदवार चुनावी मैदानमा

सिन्धुपाल्चोककाे १२ स्थानीय तहमा २ हजार २१८ उम्मेदवार चुनावी मैदानमा

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट दुई हजार २१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष/प्रमुखका लागि एक सय जना प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख /उपाध्यक्षमा ६९ जनाको मनोनयन परेको छ। १०३ वडामा ४९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महिला सदस्यका लागि ३८७ जना, दलित महिला सदस्यका लागि ३४९ जना र खुला सदस्यका लागि ८१८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच/ पाँच जनाले मनोनयन दर्ता गराएका छन्। 

सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा ३१६ को उम्मेदवारी परेको छ। यस्तै, इन्द्रावती गाउँपालिकामा २५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि २५८ जनाले नै मनोनयन दर्ता गरेका छन्।

त्यसपछि क्रमशः बाह्रबिसे नगरपालिकामा १८७, त्रिपुरासुन्दरी गाउँपालिकामा  १३८, पाचँपोखरी गाउँपालिकामा १४३, जुगल गाउँपालिकामा १४०, भोटेकोशी गाउँपालिकामा १४४, लिसङखुपाखर गाउँपालिकामा १७६, बलेफी गाउँपालिकामा १८५, सुनकोसी गाउँपालिकामा १४९ जना रहेका छन्।

सबैभन्दा कम हेलम्बु गाउँपालिकामा १२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । साथै, भोटेकोशी गाउँपालिकामा केही उम्मेदवारीले फिर्ता लिन सक्ने भएकोले यो संख्या भने केही घट्ने सम्भावना छ ।

सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। त्यसमध्ये कांग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन्। मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीसहित राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उतारेको छ। माओवादीसँग गठबन्धन गरेको नयाँ राजनीतिक दल एकीकृत समाजवादीले समेत सबै तहमा प्रतिनिधित्व गरेको छ।

Logo