गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको नगरप्रमुख उम्मेदवार सिर्जना सिंहले श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताएकी छन् । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रियामा उनले आफू नगरप्रमुखमा निर्वाचित भएर श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताइन् ।
‘श्रमको सम्मान गरेमात्र देशको विकास हुन्छ, म नगरप्रमुखमा निर्वाचित भएमा श्रमको सम्मान गर्दै श्रमिकसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’
सिंहले काठमाडौंभित्रको फुटपाथको व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन । उनले २०३३ सालमा आफूले नेविसङ्घको क्रियाशील सदस्यता लिएर विद्यार्थी राजनीति सुरु गरे पनि पार्टीभित्र कुनै पद नलिएको बताउँदै अब पद लिने बेला आएको उल्लेख गरे । ‘मैले पार्टीभित्र कुनै पद पनि लिइन, राजनीतिक पनि छोडिन, प्रजातन्त्र पुनःस्थापनाका र जनताको हक अधिकारका लागि निरन्तर लडिरहेँ’, उनले भनिन् ।
नगरप्रमुख उम्मेदवार सिंहले रात्रिकालीन समयमा महिलालाई सुरक्षित तवरले काठमाडौंभित्र हिँड्ने वातावरण निर्माणका लागि सबै वडाभित्र सिसी क्यामरा र पोलपोलमा बिजुलीबत्तीको व्यवस्था गर्ने स्पष्ट पारिन् । उनले श्रमिक महिलाका बालबालिकालाई राख्नका लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नाका साथै गृहिणी महिलाका लागि विशेष भत्ताको व्यवस्था गर्ने बताइन् ।
ट्रेड युनियन कांग्रेसका नेता एवम् पूर्वसांसद अच्युतराज पाण्डेले काठमाडौंको विकासका लागि यसपटक महिला उम्मेदवार सिंहलाई विजय गराउनुपर्ने बताए ।





























प्रतिक्रिया