निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै

निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ ।

आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ ।

सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ । खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए ।  निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम सञ्चालन भइरहेको छ ।

जिल्लामा एक उपमहानगरपालिका (धनगढी) छ । टीकापुर, लम्कीचुहा, घोडाघोडी, गौरीगङ्गा, भजनी र गोदावरी गरी छ नगरपालिका छन् । बर्दगोरिया, जानकी, जोशीपुर, कैलारी, मोहन्याल र चुरे गाउँपालिका गरी छ गाउँपालिका छन् । मोहन्याल र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका र अन्य पालिका तराई क्षेत्रका पालिका हुन् । 

कैलाली जिल्लाका लागि ४० लहर भएको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा २४० वटा चुनाव चिह्नको व्यवस्था छ । उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दल, राष्ट्रिय मन्यताप्राप्त नभई जिल्लामा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि व्यवस्था गरिएका चुनाव चिह्न छन् ।

चुनावी चटारो बढेसँगै गाउँबस्ती यतिबेला चुनावी रौनकले छोपिएका छन् । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षा गरेर बसेका छन् । फलस्वप आफ्नो पक्षमा माहौल बनाउन उम्मेदावारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् । निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न जनता आतुर भएर बसेको स्थानीय पुष्पराज ओझा बताउँछन् ।

उम्मेदवारहरूले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरे पनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।

प्रचार शैली फेरिँदै

चुनावी प्रचार–प्रसारको शैली विगतका चुनावमा भन्दा फरक ढङ्गको देखिएको छ । सूचना प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ । 

चुनावी प्रचारका क्रममा विगतका चुनावका बेला व्यापकरूपमा हुने भित्तेलेखन, पम्ल्पेटिङ, माइकिङजस्ता प्रचारका शैली भने रोकिएका छन् । निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्यासी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । दलका र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रम गरी मतदातालाई रिझाउने कसरत गरिरहेका हुन् । घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मत मागिरहँदा रोचक बन्ने गरेको स्थानीय तेजराज उप्रेतीले बताए ।

Logo