विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका हुन्। मतदाता नामावली जिल्लामा रहेकाले वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन्।
ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ। औषतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् ।
कार्यालयका अनुसार सोमबारको तथ्याङ्क हेर्दा उपत्यकाबाट ७ हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन्। उपत्यका भित्रिने सङ्ख्या भने ४२ हजार ५४४ छन्। अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन्। अबको दुई दिन यो क्रम अझै बढ्ने छ।
यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको सङ्ख्या भने जोडिएको छैन। कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका पनि देखिएको छ।
ती नागरिकले उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्भ गरेकाले मतदानका लागि जिल्ला गएको प्रतिक्रिया दिएका छन् । यसपालि निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नभएकाले पनि निर्वाचनको माहोल बढी नै तातेको छ।
यसपालि निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ। सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।
यसपटक सबै स्थानीय तहमा एकैचोटी निर्वाचन हुँदैछ । गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेकाे छ । त्यस अवधिमा प्रचारप्रसारका कार्यक्रम बन्द गर्नुपर्नेछ भने त्यसै समयदेखि नै अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द भइसकेका छन् ।
फाइल फाेटाे





























प्रतिक्रिया