राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ।
आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “अपराधजन्य घटनाको सत्यतथ्य पत्ता लगाई व्यक्तिको स्वतन्त्र र सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकारको हननजस्तो जघन्य घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिका लागि अविलम्ब आवश्यक सिफारिस र कार्य अघि बढाउन प्रहरी प्रशासनलगायत जिम्मेवार निकायलाई ध्यानाकर्षण गराइन्छ।”
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को अवसरमा राजनीतिक दलहरुको चुनावी अभियानको प्रचारप्रसारको क्रममा वैशाख १९ गते रुकुमपूर्व पुथा उत्तरगङ्गा वडा नं ५ मा भएको राजनीतिक पार्टीका कार्यकर्ताबीच झडप सँगसँगै सोही जिल्ला निवासी वर्ष ३७ की जुनकुमारी बुढा बेपत्ता भएको र घटना घटेको पाँच दिनपछि चोटसहित निजको मृत शरीर भेटिएकोमा निजलाई अपहरण गरी मारिएकोप्रति आयोगले दुःख व्यक्त गरेको छ।
त्यस्तै रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ स्यालखोला डाँडामा वैशाख २४ गते बेलुकी ९ बजे आफ्नै घरमा आमा दिदीबहिनी भेला भएर चुनावी गीतमा नाचगान गरिरहेको समयमा अर्को पक्षका पुरुष कार्यकर्ता जबर्जस्ती घरमा प्रवेश गरि किशोरी तथा महिलामाथि अपशब्द प्रयोग गर्दै लछारपछार पारेर हातपात र दुर्व्यवहार गर्दा घाइतेप्रति समेत आयोगले ध्यानाकर्षण जनाएको छ।





























प्रतिक्रिया