स्थानीय तहको निर्वाचनको मतदानको समय सकिएको छ । मतदानको समय सकिएपनि लाइनमा बसेका मतादाताले मत हाल्न पाउँने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानमा आजै साझबाट मतगणना सुरु हुने छ ।
देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ । अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।
मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।
मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् । जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् । मतदाताले मतदान गरिसकेकाले निर्वाचित प्रतिनिधिको भविष्य अबको केही समय बाकसमा कैद हुन पुगेको छ ।





























प्रतिक्रिया