काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकले विहान ८ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि ढिला गरी मतगणना सुरु भएको हो ।
उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने भनेपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । जसले गर्दा मतगणनाको कार्य ढिलाई भएको थियो ।
अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै मतगणना सुरु भएको हो । महानगरको मत १ र ३२ वडाबाट गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना १ देखी क्रमशः माथि र ३२ देखी तल गरिने जनाइएको छ । शुक्रवार काठमाडौँ महानगरपालिकासहित देशभरका पालिकामा मतदान भएको हो । काठमाडौँ महानगर प्रमुखमा ५५ जनाको उम्मेदवारी परेको छ ।
तर महानगरमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन), गठबन्धन उम्मेदवार सिर्जना सिंह, स्वतन्त्र मदनदास श्रेष्ठ लगायतको मात्रै चर्चा छ ।





























प्रतिक्रिया