निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ ।
‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न-गराउन आयोग निर्देश गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
गत बैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा मतदान स्थगन भएको थियो । यस्ता मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।
निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।
परिणाम आउन बाँकी पालिकाहरुमा मतगणना कार्य जेठ ५ गतेसम्म सम्पन्न गर्न अधिकतम् प्रयास भइरहेको आयोगले बताएको छ ।
विज्ञप्तिमा धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराएको छ ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा सम्पन्न गराउने आयोगको संवैधानिक दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहन्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।
विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको छ । तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधि विहिन हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी नयाँ जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न पनि आयोगले निर्देशन दिएको छ ।





























प्रतिक्रिया