गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।
मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएको आयोगले जनाएको छ।
आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो। कुल ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो। निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।
आयोगका अनुसार प्रमुखमा १४०, अध्यक्षमा १८८, उपप्रमुखमा ११०, उपाध्यक्षमा १९०, वडाध्यक्षमा २ हजार ६६३, महिला सदस्यमा २ हजार ६०४, दलित महिला सदस्यमा २ हजार ५४९ र सदस्यमा ५ हजार ३०४ जना जनप्रतिनिधि कांग्रेसबाट विजयी बनेका छन् ।
प्रतिक्रिया