शिक्षक हत्या प्रकरण : विप्लवका मोरङ इन्चार्ज कारागार चलान, ३५ विरुद्ध कर्तव्य ज्यान मुद्दा

शिक्षक हत्या प्रकरण : विप्लवका मोरङ इन्चार्ज कारागार चलान, ३५ विरुद्ध कर्तव्य ज्यान मुद्दा

केन्द्रबिन्दु
0
Shares

शिक्षक हत्याको आरोपमा पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका  मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन्।  

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले हातहतियार खरखजना मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ३२ वर्षीय विक कारागार चलान भएका हुन्।  

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।  

राईका अनुसार को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइल, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो।  

अनुसन्धान थाल्दा मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको राईको भनाइ छ।  

विकविरुद्ध प्रहरीले हातहतियार खरखजना र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो। हतियारका बारेमा अनुसन्धानपछि प्रहरीले मिसिल बुझाएपछि विकलाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजना मुद्दा अदालतमा दर्ता गरेको थियो।  

त्यही मुद्दाको थुनछेक बहस सकिएपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश इजलासबाट आएको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।  

‘पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादी निर्दोष हुन् भन्ने आधार नदेखिएको हुँदा  पूर्पक्षका लागि थुनामा पठाएर मुद्दाको बाँकी अनुसन्धान अघि बढाउनू,’ अदालतको आदेशमा भनिएको छ। अघिल्लो दिन थुनामा पुगेका विकविरुद्ध शिक्षक श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै गत सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा पनि अदालतमा दर्ता भएको छ।  

कर्तव्य ज्यान मुद्दामा भने विकसहित ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको छ। मुद्दाको बहस भने आगामी आइतबारबाट सुरु गरिने स्रेस्तेदार दाहालले बताए।अन्नपूर्णबाट

Logo