भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारकाे निर्णय

भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारकाे निर्णय


नेपाल सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप २० लाख डोज खरिद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी दिने निर्णय गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम शुरुमै भुक्तानी गर्नु पर्ने सर्त राखेको थियो । स्वास्थ्य मन्त्रालयले सीधै खरिद गर्न नमिलेकै कारण मन्त्रिपरिषदबाट निर्णय भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

खरिद ऐन र नियमावली अनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन मिल्ने कानुनी प्रावधान छ । तर सिरम इन्स्टिच्युटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेको थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले खोप खरिद गर्ने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी गराए। खरिद गरिँदै गरेको खोप एक डोज बराबर अमेरिकी ४ डलर पर्ने पनि उनले बताए। खोपको अग्रिम भुक्तानी गर्ने मन्त्रिपरिषद्को निर्णयपछि राजपत्रमा निर्णय प्रकाशित गर्ने, एलसी खोल्ने लगायतका प्रक्रिया पूरा गर्नका लागि केही दिन लाग्ने मन्त्रालय स्रोतले जनाएको छ ।नेपाल समाचारपत्रबाट

Logo