सरकारले डिजेल, पेट्रोलबाट चल्ने सवारी विस्थापित गरि विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल÷पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६० प्रतिशतले बढेको छ ।
यस अवधिमा कुल २ हजार ५१ विद्युतीय सवारीको आयात भएको छ । यसमा १०३ वटा मात्र विद्युतीय जीप, कार भ्यान आयात भएको छ । अरू तीनपांग्रे अटोरिक्सा लगायत सवारी रहेका छन् । अघिल्लो वर्ष कुल ४ हजार २०४ विद्युतीय सवारीसाधन आयात भएको थियो । यसमा जीप, कार र भ्यानको तथ्यांक एकै ठाउँमा राखिएका कारण यसको छुट्टै तथ्यांक छैन ।
अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल नाडा अटोमोबाइल एशोसिएशनका अनुसार अघिल्लो वर्षको पहिलो ६ महिनाको अवधिमै ६ सयभन्दा बढी जीप, कार र भ्यान आयात भएको थियो । सातौं महिनाको तथ्यांक भने नाडासँग पनि ई–रिक्सासहितको मिश्रित नै भेटिएको छ ।
विद्युतीय सवारीको आयात घटे पनि यस वर्ष डिजेल र पेट्रोलबाट चल्ने सवारीको आयात भने बढेको छ । यस अवधिमा बसबाहेक जीप, कार भ्यान, मोटरसाइकल र ट्रकलगायत सवारीसाधनको आयात बढेको छ ।
नाडाका महासचिव सुनिल रिजालका अनुसार सरकारले विद्युतीय सवारीमा गरेको कर वृद्धिका कारण यस्तो सवारीको आयात घटेको हो । सरकारले गत जेठमा बजेटमार्फत विद्युतीय सवारीको भन्सार १० प्रतिशतबाट वृद्धि गरेर ८० प्रतिशत पुर्याएको थियो । यद्यपि, पछि अन्तःशुल्क तथा कर छूट दिने निर्णय भएको थियो ।
अहिले पनि विद्युतीय सवारी आयातमा ४० प्रतिशतसम्म कर रहेकाले यसको आयात घटेको रिजालले बताए । उनले भने, ‘विद्युतीय सवारीको मूल्य नै महँगो पर्छ, त्यसमाथि कर पनि थोपरेपछि धेरै महँगो पर्ने भयो । त्यसैले माग नभएर आयात घटेको हो ।’ बैंकबाट कर्जा लिने प्रक्रिया पनि झन्झटिलो भएर विद्युतीय सवारीको आयात बढ्न नसकेको व्यवसायी बताउँछन् ।अभियान दैनिकबाट





























प्रतिक्रिया